नेपाली समय:

वि.सं २०८१ माघ २   बुधवार

EnglishEN
   कोरोनाको प्रभाव अन्नपूर्ण पदमार्गमा   

   कोरोनाको प्रभाव अन्नपूर्ण पदमार्गमा   

मनाङ, २० फागुन : विश्वभर फैलिएको कोरोना भाइरसका कारण अन्नपूर्ण पदमार्ग सुनसानजस्तै बनेको छ । लमजुङको सदरमुकाम बेँसीशहरदेखि शुरु हुने चक्रीय अन्नपूर्ण पदमार्ग कास्कीको पोखरा पुगेर समाप्त हुन्छ । विगत वर्षहरुमा विदेशी पर्यटकको लर्को लाग्ने यो समयमा अहिले पर्यटक देख्नै रहर भएको छ । लमजुङ बेँसीशहर हँुदै खुदीभुलभुले, बाहुनडाँडा, जगतच्याम्चे, जगत भएर पर्यटक मनाङ आउने क्रम ठप्प भएको छ ।    
    
पर्यटनकै भरमा रहेका पर्यटन व्यवसायी र होटल व्यवसायी पर्यटन नआउँदा निराश भएका छन् । पर्यटन व्यवसायी विनोद गुरुङका अनुसार गत वर्ष यो समयमा होटलका कोठाले नपुगेर टेन्टमा पर्यटक राख्नुपरेको थियो, अहिले सबै खाली नै छन् । त्यस्तै गुनासो अधिकांश होटल व्यवसायीको छ ।    
    
कहिले हिमपात त कहिले महामारी रोगले यो पदमार्गमा आउने पर्यटक दिनानुदिन घट्दै गएको होटल व्यवसायी मिङ्मर लामाले बताउनुभयो । उहाँका अनुसार दुईचार दिन अगाडि एकदुई पर्यटक देखिए पनि अहिले भने सुनसान नै भएको छ । उहाँले भन्नुभयो, “पर्यटक आउनुभन्दा पनि रोग सर्ला कि भन्ने डरले सताएको छ ।”    
    
जिल्ला प्रशासन कार्यालय मनाङले विदेशी पर्यटकसँग सचेत रहन र कोरोना भाइरसका बारेमा सतर्क रहन आग्रह गरेको छ । त्यस्तै अन्नपूर्ण संरक्षण क्षेत्र मनाङले पनि पर्यटकीय क्षेत्रमा आउने विदेशी पर्यटकसँग सचेत रहन आग्रह गरेको छ । रासस   

३ Mar २०२० , ३:४४pm
हाम्रो आवाज