भदौ -९
सिन्धुपाल्चोक - पहिरोका कारण ४० दिनदेखि अवरुद्ध चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानी जोड्ने सडकको इको खण्ड सञ्चालनमा आएको छ। सडक डिभिजन कार्यालयले नयाँ ट्र्याक खोलेपछि सोमबारदेखि सवारीसाधन सञ्चालनमा आएका हुन्।
भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित इको क्षेत्रमा असार ३१ गते पहिरोसँगै सडक भासिएपछि आवागमन ठप्प भएको थियो। सडक खुलाउन ६ वटा टिपर र १२ वटा ठूला मेसिन परिचालन गरिएको थियो।
सडक डिभिजन कार्यालयका प्रमुख नारायणदत्त भण्डारीका अनुसार डाक्लाङ क्षेत्रको सडक यसअघि नै सञ्चालनमा आइसकेको थियो। इको खण्ड खुलेसँगै अब लिपिङ क्षेत्रमा पनि मर्मतसम्भारको काम अघि बढाइने उनले बताएका छ्न। लामो समयसम्म अन्तर्राष्ट्रिय व्यापारिक मार्ग बन्द हुँदा व्यवसायीले ठूलो आर्थिक क्षति बेहोर्नुपरेको थियो ।
तातोपानी नाका लामो समय अवरुद्ध हुँदा चीनबाट नेपाल भित्रिने व्यापारिक सामान ढुवानी प्रभावित भएको छ। बाँकी अवरोध हटाएर नाका पूर्ण रूपमा सञ्चालनमा ल्याउन सडक तथा सम्बन्धित निकायले काम अघि बढाइरहेका छन्।

