कार्तिक-११
काठमाडौं । बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले नेपालका विभिन्न क्षेत्रमा कार्तिक १३ र १४ गते भारी वर्षा, चट्याङ र हावाहुरीको सम्भावना देखिएपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
प्राधिकरणका अनुसार कात्तिक १३ र १४ गते कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित मध्यम वर्षा हुन सक्नेछ । केही स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ ।
मौसम पूर्वानुमानअनुसार चक्रवात ‘अरनब’को प्रभाव कात्तिक १३ गते शुक्रबारदेखि नेपालमा पर्न सक्ने अनुमान गरिएको छ । यसको प्रभाव कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा समेत देखिन सक्नेछ ।
उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिमसमेत रहेको प्राधिकरणले जनाएको छ । प्रतिकूल मौसमका कारण जनजीवन प्रभावित हुन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन उसले सर्वसाधारणलाई आग्रह गरेको छ ।
सम्भावित जोखिमबाट बच्न उच्च पहाडी तथा हिमाली क्षेत्रमा यात्रा नगर्न, अत्यावश्यक कामबाहेक यात्रा नगर्न र नदी तथा खोलाका किनार एवं बाढीको जोखिम भएका क्षेत्रमा नबस्न प्राधिकरणले अनुरोध गरेको छ ।

