कार्तिक- २५
एजेन्सी - अमेरिकामा कार्यरत नेपाली नर्स ममता काफ्ले भट्टको हत्या अभियोगमा मृतकका पति नरेश भट्टलाई अमेरिकाको भर्जिनिया स्थित अदालतले दोषी ठहर गरेको छ
मंगलबार (१० नोभेम्बर) जुरीले हत्यासहित उनीमाथि लगाइएका तीनवटै अभियोगमा दोषी ठहर गरेको हो ।
अमेरिकी समाचार संस्था सीएनएनका अनुसार जुरीले करिब छ हप्तासम्म चलेको सुनुवाइ र प्रमाणहरूको अध्ययनपछि भट्टलाई दोषी ठहर गरेको हो । मंगलबार करिब पाँच घण्टाको छलफलपछि निर्णय सुनाइएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यम सीएनएन बाट प्राप्त जानकारी अनुसार जुरीले भट्टले अदालतमा दिएको आत्महत्यासम्बन्धी दाबी अस्वीकार गर्दै उनलाई प्रथम श्रेणीको हत्यामा दोषी ठहर गरेको छ । नरेशलाई प्रथम श्रेणीको हत्या, शव लुकाएको र मृत शरीर अपवित्र बनाएको अभियोगमा दोषी ठहर गरिएको हो ।

