नेपाली समय:

वि.सं २०८१ बैशाख ४   मंगलवार

NepaliNP
  स्तन क्यान्सरले छट्पटिदै पुम्फा सहयोग गर्न आग्रह   

जुम्ला, १२ माघ : तातोपानी गाउँपालिका–२ जर्मीगाउँकी ६५ वर्षीया पुम्फा दमार्इँले पैसा नभएपछि स्तन क्यान्सरको उपचार गराउन सक्नुभएको छैन ।    

उहाँ तीन वर्षदेखि क्यान्सरको पीडाले छटपटिइरहनुभएको छ । “ पहिले सानो घाउ थियो, त्यही बेला उपचार भएको भए पीडा खेप्नुपर्ने थिएन होला । घरमा कोही पनि पढेलेखेका नहुँदा आफ्नो समस्याप्रति वास्तै गरिएन ।”उहाँले गहभरि आँशु पार्दै भन्नुभयो । भारतमा उपचार गर्न जाँदा क्यान्सर भएको र शल्यक्रिया गर्नुपर्छ भनेपछि पैसाको अभावले उहाँलाई फर्काइएको आफन्तले जनाएका छन् ।    

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुनः उपचारका लागि लैजाँदा जुम्लामा उपचार सम्भव जानकारी दिइएको थियो । उहाँकी जेठो नाति कैलाश दमाईले भन्नुभयो, “ उपचार भारतको लखनऊमा हुन्छ भनेका छन् । त्यसका लागि करीब रु तीन/चार लाख रकम लाग्छ । केही रकम आफूले छुट्याएपछि केही प्रतिष्ठानले सहयोग गर्ने भनेको छ । तर घरको सबै धन सम्पत्ति बेच्दा पनि रु तीन/चार लाख रकम पुग्दैन । कसरी हजुरआमाको उपचार गरौँ । ”    

उहाँका श्रीमान् खड्के दमाईको २० वर्ष पहिला मृत्यु भएको थियोे । उहाँको पीडामा मल्हम लगाउन अघिपछि कोही पनि छैनन् । घरमा रहेका तीन नातिको दयनीय अवस्थाले उहाँको उपचार सम्भव भएन ।    

“घरमा छ महिना खाना पनि धौधौ छ, अब मर्नुको विकल्प छैन उहाँले भन्नुभयो,“ बाँच्ने रहर हुँदा पनि आर्थिक अभावले म गल्दै छु । सरकारले दिने गरेको सामाजिक सुरक्षाभत्ताले औषधि किन्नै ठिक्क छ । दुखाइले नछटपटिएको कुनै दिनरात छैन । ” रासस   

26 Jan 2020 , 11:11am
हाम्रो आवाज