नेपाली समय:

वि.सं २०८१ बैशाख ७   शुक्रवार

NepaliNP
  सभामुखको निर्वाचन हुँदै   

काठमाडौँ, १२ माघ : प्रतिनिधिसभाको रिक्त सभामुख पदको निर्वाचन आज केहीबेरपछि बस्ने बैठकमा हुँदैछ । सो पदका लागि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अग्निप्रसाद सापकोटाको मात्र उम्मेदवारी परेकाले बैठकमा प्रस्तावकले प्रस्ताव प्रस्तुत र समर्थकले समर्थन गरेपछि उहाँलाई निर्विरोध निर्वाचित भएको घोषणा गरिनेछ । सो प्रस्तावको प्रस्तावकमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङ तथा समर्थकमा नेकपाका प्रमुख सचेतक देवप्रसाद गुरुङ र सांसद ओनसरी घर्ती एवं राष्ट्रिय जनता पार्टीका सांसद लक्ष्मणलाल कर्ण हुनुहुन्छ ।    
    
यही माघ ६ गतेको प्रतिनिधिसभाको बैठकले आजका लागि निर्वाचनको मिति निर्धारण गरेको थियो । सो दिनको बैठकमा सभामुखको हैसियतमा रहनुभएका ज्येष्ठ सदस्य महन्थ ठाकुरले उपसभामुख शिवमाया तुम्बाहाङ्फेले दिएको राजीनामाबारे बैठकलाई जानकारी गराउनुभएको थियो ।    
    
तत्कालीन सभामुख कृष्णबहादुर महराले आफू महिलामाथिको यौन दुव्र्यवहारको विवादमा परेपछि गत असोज १५ गते सो पदबाट राजीनामा दिनुभएको थियो । हाल उहाँ पुर्पक्षका लागि थुनामा हुनुहुन्छ । सभामुखको निर्वाचनपछि उपसभामुखको निर्वाचन कार्यतालिका तय हुनेछ । गत पुस ४ गते शुरु भएको सङ्घीय संसद्को चालु पाँचौँ अधिवेशनअन्तर्गत राष्ट्रियसभाका बैठक नियमित भए पनि प्रतिनिधिसभाको सभामुखमा रिक्तता र त्यसमा राजनीतिक सहमतिमा भएको ढिलाइका कारण बैठक स्थगन हुँदै आएको थियो ।    
 

26 Jan 2020 , 4:25pm
हाम्रो आवाज