नेपाली समय:

वि.सं २०८० चैत्र १५   बिहीवार

NepaliNP
    अझै सम्पन्न भएन ‘सर्भिस ट्र्याक’   

काठमाडौँ, २८ माघ : कोटेश्वर–कलङ्की सडक खण्डमा हालसम्म ‘सर्भिस ट्र्याक’ निर्माण सम्पन्न हुन सकेको छैन । सो खण्ड विस्तार कार्य सम्पन्न भएको लामो समय वितिसक्दा पनि ट्र्याकले गति लिन नसकेको हो ।    

चीन सरकारले मुख्य र सहायक गरी आठ लेन सडक निर्माण गरिदिएको थियो । नेपाल सरकारले सडकको दुबैतर्फ एक–एक लेन निर्माण गर्ने गरी सम्झौता भएको थियो । सो खण्डको मर्मत दुई वर्ष पहिले शुरु भएपनि अझैसम्म सम्पन्न हुन नसकेको बताइएको छ । कतिपय स्थानमा जग्गा कारण मार्ग निर्माण हुन नसकेको काठमाडौँ चक्रपथ सुधार योजनाले जनाएको छ ।    
कोटेश्वर, एकान्तकुना, बल्खुलगायतका विभिन्न स्थानमा सो समस्या रहेको योजना प्रमुख अमृतमणि रिमालले जानकारी दिनुभयो । कोटेश्वर सूर्यकोट मार्गबाट बालकुमारी पुलसम्म तीन वटा घर सडकको अधिकार क्षेत्रमा रहेका कारण मार्ग निर्माण अघि बढ्न सकिरहेको छैन ।    

त्यस्तै, एकान्त कुनामा रहेको तिब्बती शरणार्थी क्याम्प पनि सडकको अधिकार क्षेत्रमा परेको छ । उहाँले भन्नुभयो,“यी संरचना हटाउन नसक्दासम्म हामीले चाहेर पनि सडक निर्माण गर्न सकिँदैन ।”सडकको लम्बाइ झण्डै १० किमी रहेको छ । चीन सरकारको सहयोगमा विसं २०७२ मा सो सडकको निर्माण शुरु भइ गतवर्ष सरकारलाई हस्तान्तरण गरिएको थियो ।    

नेपालको पहिलो आठ लेन सडकका रुपमा रहेको सो सडकमा पर्ने तीन आकाशे पुल चीन सरकारले नै निर्माण गरिदिएको थियो । खसी बजारदेखि कलङ्कीसम्मको ‘अण्डर पास’ नेपालको पहिलो हो । चीन सरकारकै सहयोगमा कलङ्कीबाट धोबीखोलासम्मको सडक पनि आठ लेनमै विस्तार हुने जनाइएको छ । सो सडक खण्डमा पनि ‘सर्भिस ट्र्याक’ निर्माण गर्ने सहमति भएको सडक विभागले जनाएको छ ।    
 

11 Feb 2020 , 3:20pm
हाम्रो आवाज