नेपाली समय:

वि.सं २०८१ बैशाख १३   बिहीवार

NepaliNP
    कोरोना भाइरसको नियन्त्रणका लागि चीनलाई ग्रुप ७७ र राष्ट्रसंघको सहयोग   

संयुक्त राष्ट्रसंघ, २८ माघ : चीनमा देखा परिरहेको प्राणघातक सङ्क्रमण कोरोना भाइरस नियन्त्रणका लागि चीनलाई विश्व विभिन्न ७७ देशहरुको समूह ग्रुप७७ ले सहयोग गर्ने जनाएको छ ।    
    
संयुक्त राष्ट्रसंघका लागि गुएनाका राजदूत रुडल्फ माइकल तेन्पोले सोमबार सो जानकारी दिनुभयो । उहाँले गु्रप७७ का सदस्य राष्ट्रहरुले चीनलाई आवश्यक पर्ने सहयोग उपलब्ध गराउने बताउनुभएको हो ।    

त्यसैगरी संयुक्त राष्ट्रसंघले पनि चीनलाई आवश्यक पर्ने सहयोग उपलब्ध गराउने आवश्वासन दिएको छ । यसअघि संयुक्तराज्य अमेरिकाले पनि चीनलाई आवश्यक सहयोग उपलब्ध गराउने जनाएको थियो ।    

संयुक्त राष्ट्रसंघले चीनले हाल कोरोना भाइरसको सङ्क्रमण रोक्नका लागि गरेका प्रयासहरुको सराहना पनि गरेको छ । हालसम्म चीनले गरेका प्रयासको सराहना गर्दै चीनले आगामी दिनमा गर्नुपर्ने कार्यका लागि आवश्यक सहयोग उपलब्ध गराउने उसले जनाएको छ ।    
    
चीनले यस भाइरसको सङ्क्रमण रोक्न हालसम्म चालीस हजार सामुदायिक कार्यकर्तालाई अग्रपङ्क्तिमा परिचालन गरिएको जनाएको छ ।    
    
चीनका विभिन्न प्रदेशमा रहेका ६ लाख ५० हजार समुदायमा उनीहरु परिचालित भएको नागरिक मामिला अधिकारीहरुले सोमबार जानकारी दिएका थिए ।    
    
नागरिक मामिला मन्त्रालयका अधिकृत चेन येलिङका अनुसार हरेक समूदायका लागि औसतमा छ जना सामुदायिक कार्यकर्ता परिचालित भएका छन् ।    
    
पत्रकार सम्मेलनमा उहाँले हरेक सामुदायिक कार्यकर्ताले औसतमा ३५० स्थानीय बासिन्दालाई हेर्ने गरेको पनि जानकारी दिनुभयो ।    
    
आर्थिक तथा सामाजिक क्षेत्रका लागि संयुक्त राष्ट्रसंघका उपमहासचिव लिउ जेनमिनले यस सङ्क्रमण नियन्त्रणका लागि चीनले गरेका कार्यहरुका बारेमा संयुक्त राष्ट्रसंघका विभिन्न एजेन्सी तथा महत्वपूर्ण मञ्चहरुमा छलफल जारी रहेको जानकारी दिनुभयो ।    
    
ती सबै मञ्चहरुमा उपस्थित भएका जि७७ तथा संयुक्त राष्ट्रसंघीय एजेन्सीका प्रतिनिधि तथा प्रमुखहरुले चीनको सहयोगका लागि प्रतिबद्धता व्यक्त गरेका पनि उहाँले जानकारी दिनुभयो ।    
    
उहाँले जि७७ का सबै राष्ट्रले चीनलाई आवश्यक पर्ने सहयोगका लागि तत्परता नै देखाएको जानकारी उहाँले दिनुभयो ।    
    
उनीहरुले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण कार्यमा लाग्नुपर्ने मुख्य कार्यहरुको पहिचान गरेर चीनमै पुगेर र आ–आफ्नो देशबाट आवश्यक प्राविधि तथा आर्थिक सहयोग दिने बताएको उहाँको भनाई थियो ।    
    
हाल चीनले यो सङ्क्रमणका विरुद्धमा निकै नै कडा मेहनेत गरेर काम गरिरहेको बताइएको छ । गत वर्षको अन्त्यतिरबाट चीनमा देखिएको यो नयाँ भाइरस द्रुत रूपमा फैलिएपछि चीनको मुख्य भूमिमै एक हजार जनाभन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।    
    
सोमबार प्राप्त एक समाचारअनुसार यस भाइरसबाट .१ हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । भाइरसको सुरुआत भएको प्रमुख स्थानको रूपमा रहेको हुबेई प्रान्तमा आइतबारसम्म मात्र यस भाइरसबाट दुई हजार ६१८ जना सङ्क्रमित भएका अधिकारीहरुले जनाएका छन् । यो सङ्क्रमण उक्त प्रान्त बाहिर एवं अन्य देशमा समेत देखापरिरहेका समाचारहरु प्राप्त भइरहेका छन् ।    
    
यस सङ्क्रमणबाट सोमबार एकै दिनमा १०० व्यक्तिको मृत्यु भएको चिनियाँ अधिकारीहरुले जनाएका छन् ।  रासस/सिन्ह्वा

11 Feb 2020 , 5:13pm
हाम्रो आवाज