नेपाली समय:

वि.सं २०८१ बैशाख १८   मंगलवार

NepaliNP
    महिला विश्वकप क्रिकेटः अस्ट्रेलियाले ब्याटिङ रोज्यो, प्रभावशाली शुरुवात   

मेलबोर्न, २५ फागुन : अस्ट्रेलियामा जारी टी २० महिला विश्वकप क्रिकेटको उपाधिका लागि अस्ट्रेलिया र भारतबीच मेलबोर्न क्रिकेट मैदान (एमसिजी) मा आइतबार खेल हुँदैछ ।    
    
अस्ट्रेलियाका कप्तान मेग ल्यानिङले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गर्नु भएको छ । चालू शृङ्खलामा अस्ट्रेलिया अविजित रहेका कारण उपाधिको हकदार मानिएको छ ।    
    
महिला क्रिकेट विश्वकपको फाइनलमा भारत पहिलो पटक पुगेको हो । एमसिजीमा ८० हजारभन्दा बढी दर्शकका सामुन्ने खेल्नुपर्ने चुनौती भारतसमक्ष छ ।    
    
अर्कोतर्फ, अस्ट्रेलियाले महिला विश्वकप उपाधि चार पटक जितिसकेको छ । हरेक पटक खेलिएका विश्वकपमा अस्ट्रेलिया नकआउट चरणमा प्रवेश गरेको छ ।    
दुबै टिममा यसअघिकै खेलाडी समावेश छन् ।    
    
अस्ट्रेलियाले २.३ ओभरमा विना विकेटको क्षतिमा २६ रन बनाएको छ ।    
    
भारतीय टोलीमा शफाली बर्मा, स्मृति मन्धना, तनिया भाटिया, जमिमाह रोड्रिगेज, हर्मनप्रित कौर (कप्तान), वेदा कृष्णमुर्ती, दिप्ती शर्मा, शिखा पाण्डे, राधा यादव, पूनम यादव र राजेश्वरी गायकवाड रहनु भएको छ ।    
    
अस्ट्रेलियाली टोलीमा एलिजा हिली, बेथ मूनी, मेग ल्यानिङ, जेस जोनासन, अस्ले गार्डनर, राचेल हेनिस, निकाला केरी, सोफी मोलिनक्स, जर्जिया वेयरह्याम, डेलिसा किमिन्स र मेगान सूट रहनु भएको छ । रासस/एएनआई    
 

8 Mar 2020 , 5:57pm
हाम्रो आवाज