नेपाली समय:

वि.सं २०८१ बैशाख ७   शुक्रवार

NepaliNP
कोरोना भाइरस : विश्वभर पाँच हजार ५०० व्यक्तिको मृत्यु, १३५ भन्दा बढी मुलुक प्रभावित     

पेरिस, १ चैत : चीनमा गत वर्षको डिसेम्बरमा पत्ता लागेको कोरोना भाइरसको प्रभाव सुरूमा केही एशियाली मुलुकमा देखिए पनि पछिल्ला दिनहरूमा आइपुग्दा यूरोप हुँदै अमेरिकासम्म पुगेको छ ।    
    
कोभिड–१९ को सङ्क्रमणका कारण शनिबारसम्म पाँच हजार ५४७ व्यक्तिको मृत्यु भइसकेको छ । यसमध्ये सबैभन्दा बढी चीनमा तीन हजार १७६ व्यक्तिको मृत्यु भएको छ भने पछिल्ला केही दिनमा चीनमा नयाँ व्यक्तिमा सङ्क्रमण र मृत्यु दर लगभग नियन्त्रणको नजिक पुगेको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जानकारी गराएको छ ।    
    
 शनिबारसम्ममा कोरोना भाइरसको सङ्क्रमण १३५ भन्दा बढी मुलुकमा पुष्टि भइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।    
    
चीनपछि बढी प्रभावित मानिएको इटली र इरानमा सङ्क्रमणका कारण क्रमशः एक हजार २६६ र ६११ व्यक्तिको मृत्यु भएको छ । केही समय पहिले चीनको वुहान सहर कोरोना भाइरसको केन्द्रविन्दु मानिएको थियो तर प्रभावितहरूको सङ्ख्या निकै वृद्धि भएपछि विश्व स्वास्थ्य संगठनले हालको अवस्थामा यूरोपलाई सङ्क्रमणको केन्द्रविन्दु मानेको छ ।    
    
आर्थिक मन्दीको ‘प्रवल सम्भावना    
    
यूरोपेली केन्द्रीय बैंक (ईसीबी)ल कोरोना सङ्क्रमणको प्रभाव विश्वव्यापी बनेपछि यसका कारण छोटो समयका लागि आर्थिक मन्दी हुनसक्ने सम्भावनाहरू देखिएको बताएको छ ।    
यूरोपेली आयोगले यस वर्ष कोरोनाको प्रभावका कारण विश्व अर्थतन्त्र र व्यापारिक गतिविधिमा व्यापक प्रभाव पर्ने प्रक्षेपण गरेको छ ।    
    
संयुक्त राज्य अमेरिका, चीन र जर्मनीलगायतका मुलुकले भाइरस सङ्क्रमणका कारण प्रभावित भएका व्यवसायिक वातावरणलाई उठाउनका लागि आवश्यकता अनुसार ऋण प्रवाह गर्ने बताइसकेका छन् । जर्मनीले भाइरस सङ्क्रमणका कारण प्रभावित बजारलाई उकास्नका लागि पाँच खर्ब ५० करोड यूरो कर्जाका रूपमा आफ्ना स्वदेशी कम्पनीहरूलाई प्रवाह गर्ने बताएको छ । रासस/एएफपी 

14 Mar 2020 , 9:39pm
हाम्रो आवाज