नेपाली समय:

वि.सं २०८१ बैशाख ८   शनिवार

NepaliNP
भारतमा लकडाउन दुई साताका लागि लम्ब्याइयो

नयाँदिल्ली, १९ वैशाख : विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को रोकथामका लागि भारत सरकारले लगाएको देशव्यापी लकडाउन फेरि लम्ब्याएको छ । 
आगामी मे ४ देखि थप दुई हप्ताको लागि लकडाउन थपिएको हो । शुक्रबार नरेन्द्र मोदी नेतृत्वको सरकारले यस्तो निर्णय गरेको हो । 

गृह मन्त्रालयले कोभिड विरुद्ध निर्देशिका जारी गर्दै लकडाउन उल्लंघन नगर्न सबै नागरिकलाई सूचित गरेको छ । मन्त्रालयका अनुसार यसपटक बढाइएको लकडाउनको अवधिमा मुलुकको ‘रेड जोन’मा रहेका एक सय ३० जिल्लामा कुनै छुट दिइने छैन ।

‘अरेन्ज जोन’ र ‘ग्रीन जोन’मा रहेका जिल्लाहरुलाई भने केही छुट दिइनेछ । दिल्ली, मुम्बई, पुने, अहमदावाद, हैदरावाद, लखनऊ, इन्दोर र जयपुरजस्ता क्षेत्र ‘रेड जोन’ मा परेका छन् । साथै उत्तर प्रदेशको १९ जिल्लालाई पनि ‘रेड जोन’ घोषणा गरिएको छ ।

२८४ ‘अरेन्ज जोन’मा परेका जिल्लामा पनि ‘रेड जोन’मा जस्तै लकडाउन रहनेछ । तर, यी क्षेत्रमा छुट्याइएको ‘हटस्पट’ बाहिरको क्षेत्रमा भने लकडाउनमा केही छूट हुनेछ ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँ ३५ हजार भन्दा बढीमा नोवल कोरोना भाइरस संक्रमण देखिएको छ । उनीहरू मध्ये ९ हजार जना निको भइसकेका छन् भने एक हजार १५२ जनाको ज्यान गएको छ ।
 

1 May 2020 , 8:51pm
हाम्रो आवाज