नेपाली समय:

वि.सं २०८१ बैशाख ११   मंगलवार

NepaliNP
निःशुल्क खाना खुवाउने ठाउँ स¥यो

काठमाडौँ,मंसिर-३, बुधवार 

काठमाडौं महानगरपालिकाले ठाउँको व्यवस्थापन गरिदिएपछि खुलामञ्चमा सञ्चालन हुदै आएको निःशुल्क खाना खुवाउने अभियानलाई थापाथली स्थित प्रसूति गृह पछाडि सारिएको छ । 
खुलामञ्चमा खाना खुवाउँदा धुवाधुलो हुने र यसबाट कोभिड १९ संक्रमणको जोखिम मात्र नभएर अन्य रोगको समेत सम्भावना भएको भन्दै महानगरपालिकाले मंसिर २ गते देखि खुलामञ्चमा खाना खुवाउने अभियान बन्द गर्न भनेको थियो । तर मानिसहरु खाना खानका लागि लामबद्ध भएपछि हाम्रो टीम नेपालले मंगलबार खाना खुवाएको थियो । त्यसपछि भने महानगरपालिकाले बैकल्पिक ठाउँ दिएको छ । थापाथली स्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको पछाडिपट्टी रहेको खुला ठाउँ उपलब्ध गराएपछि आजदेखि सोही ठाउँमा निःशुल्क खाना खुवाउन लागिएको हाम्रो टीम नेपालका अध्यक्ष विमल पन्तले बताउनुभयो । नयाँ  ठाउँमा शौचालय, खानेपानी, फोहोर फाल्ने ठाउँ लगायतका पूर्वाधार निर्माण महानगरपालिकाले गरिदिने सम्झौता भएको पनि अध्यक्ष पन्तले बताउनुभयो । उहाँले काम नपाएर भोकै बस्नुपर्ने स्थिति आएमा प्रत्येक दिन विहान ९ बजे थापाथली स्थित व्यवस्था गरिएको ठाउँमा खाना खान आउन समेत आग्रह गर्नुभयो ।
काठमाडौं महानगरपालिकाले सार्वजनिक यातायात सुचारु भएको अवस्थामा सार्वजनिक स्थलहरुमा भिडभाड हुनेगरी खाना खुवाउँदा स्वास्थ्य मापदण्ड कार्यान्वयनमा जटिलता पैदा भएको भन्दै वैकल्पिक व्यवस्थाका लागि पहल गरिएको बताएको छ । महानगरपालिकाका नगर प्रहरी प्रमुख धनपती सापकोटाले असाहय अशक्तलाई भोजन गराउने संघ संस्थाकै अनुमतिमा महानगरपालिकाको पहलमा नयाँ ठाउँको व्यवस्था गरिएको बताउनुभयो । स्वास्थ्य जोखिम, संक्रमणको सम्भावना र सामाजिक प्रतिष्ठा तथा मानव अधिकारको संरक्षण गर्ने हेतुले सार्वजनिक स्थल, खुला क्षेत्रमा भोजन सेवा बन्द गरी बैकल्पिक स्थानमा भोजन गराउने नीति अनुसार नयाँ ठाउँको व्यवस्था गरिएको उहाँले बताउनुभयो । निःशुल्क भोजन गराउने स्थानमा सौचालय, पानी सहितको संरचना निर्माण महानगरपालिकाले गरिदिने पनि सापकोटाले बताउनुभयो ।
यसबाहेक काठमाडौं महानगरपालिकाले काम गर्न सक्नेका लागि हप्तामा दुई दिन कामदिने व्यवस्था गरेको पनि नगर प्रहरी प्रमुध सापकोटाले बताउनुभयो । त्यसका लागि आफ्नो वडा कार्यालयमा सम्पर्क गर्न उहाँको आग्रह छ । काम गर्न सक्नेका लागि काम दिने र नसक्ने लाई निःशुल्क खाना खान खुवाउने नीति महानगरपालिकाले लिएको पनि सापकोटाले स्पस्ट पार्नुभयो । 


 

18 Nov 2020 , 11:22pm
हाम्रो आवाज