नेपाली समय:

वि.सं २०८१ बैशाख ६   बिहीवार

NepaliNP
धोबीखोल कोरिडोरको अनुगमन

सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले धोबीखोला कोरिडोरको काम एक वर्षभित्र सम्पन्न गरिसक्न निर्देशन दिनुभएको छ । 
कोरिडोरको निर्माण प्रगतिका विषयमा स्थलगत अनुगमन गरेपछि मन्त्री श्रेष्ठले एक वर्षभित्र सम्पूर्ण निर्माणको काम सम्पन्न गर्न निर्देशन दिनुभएको हो । बिजुली बजार पुल निर्माणका क्रममा कमजोरी भएको उल्लेख गर्दै उहाँले एक वर्षभित्र जसरी पनि त्यसको व्यवस्थापन गर्न उपत्यका विकास प्राधिकरणलाई निर्देशन दिनुभयो । पुलमुनिबाट गाडी गुड्ने गरी निर्माण गर्नुपर्ने उहाँको भनाई छ । कोरिडोरको फुटपातको व्यवस्थापन पनि हुन नसकेकोले त्यतातर्फ पनि ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । कोरिडोर कालोपत्र गर्ने कामका लागि ठेक्का सम्झौता भइसकेकाले छिटो काम तोकिएकै समयमा सक्न पनि उहाँले निर्देशन दिनुभयो ।  
उपत्यका विकास प्राधिकरणका प्रमुख भाईकाजी तिवारीले ठेक्का भएअनुसारको काम यो आर्थिक वर्षभित्र सम्पन्न गर्ने राखिएको बताउनुभयो । आयोजनाको भौतिक प्रगति ९९ प्रतिशत भएको उल्लेख गर्दै उहाँले १६ किलोमिटर सडक कालोपत्रे भइसकेको पनि बताउनुभयो । 
मुआब्जा वितरण समेत गरेर ३ अर्ब ६० करोडमा कोरिडोर निर्माणको काम सम्पन्न गर्ने लक्ष्य प्राधिकरणले लिएको छ । शुक्रबार कोरिडोर निर्माणको प्रगतिका विषयमा मन्त्री समेत टोलीले स्थलगत अनुगमन गरेको थियो । लामो समय अलपत्र परेको कोरिडोर निर्माणको कामले अब गति लिने विश्वास प्राधिकरणले गरेको छ । विगतमा फरक फरक निर्माण कम्पनीहरुले ढल विच्छ्याउने र सडक कालोपत्र गर्ने ठेक्का पाउँदा समन्वय हुन सकेको थिएन् । फलस्वरुप निर्माणको कामले गति लिन सकेन् । अहिले एउटै निर्माण व्यवसायीले ढल बिच्छ्याउने र सडक कालोपत्र गर्ने काम पाएपछि निर्माणमा सहजता आउने विश्वास प्राधिरकणको छ ।

20 Nov 2020 , 7:29pm
हाम्रो आवाज