नेपाली समय:

वि.सं २०८१ बैशाख १९   बुधवार

NepaliNP
हतकडीसहित दुई थुनुवा अदालतबाटै फरार

फागुन -११-विराटनगर : लागुऔषध मुद्दामा म्याद थप का लागि अदालत लगिएका दुई जना थुनुवा हरू ले प्रहरीलाई छलेर  अदालत  परिसरबाटै हतकडीसहित फरार भएका छन्। प्रहरी नियन्त्रणमा रहेका मोरङको कटहरी गाउँपालिका–४ का मुराज भनिने मनराज शेख र झापाको बिर्तामोड नगरपालिका–५ का  प्रकाश चौधरी म्याद थप गर्न लिएर गएको प्रहरी टोलीलाई छलेर भागेका हुन्।


शेखलाई लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले आइतबार पक्राउ गरेर कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मोरङको जिम्मा लगाएको थियो। कटहरीबाट पक्राउ परेका उनको साथबाट आठ ग्राम लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन) बरामद भएको थियो। अन्तर्राष्ट्रिय बजारमा महँगो र उच्च गुणस्तरमध्येको मानिने लागुऔषध ब्राउन सुगर किनबेच गर्दा तौल लिन प्रयोग गरिने मेसिन पनि प्रहरीले नियन्त्रणमा लिएको थियो। प्रहरीकाअनुसार लागुऔषधका कारोबारी रहेका शेख ब्राउन सुगर बिक्री गर्न जाँदै गरेका बेला पक्राउ परेका हुन्।

त्यस्तै चौधरी विराटनगरको बरगाछीबाट लागुऔषधसहित आइतबार पक्राउ परेका हुन्। उनको साथबाट लुपिजेसिक, डाइजेल्याब, एभिल, फेनारगनसमेतका लागुऔषध प्रहरीले नियन्त्रणमा लिएको छ। दुवै जनाविरुद्ध लागुऔषध ऐन अन्तर्गतको मुद्दामा अनुसन्धान अघि बढाउन प्रहरीले म्याद थप गर्न उनीहरुलाई सोमबार एउटै हतकडी लगाएर अदालत उपस्थित गराएको हो।

मोरङ प्रहरीका  डीएसपी मानबहादुर राईका अनुसार अदालतले  म्याद थप गरेर अनुसन्धानका लागि अनुमति दिइसकेपछि फर्काएर प्रहरी कार्यालय ल्याउने तयारी हुँदै गर्दा झुक्याएर दुवै जना फरार भएका हुन्। ‘म्याद थप भएपछि भोक लागेकाले चियानास्ता गर्ने प्रस्ताव उनीहरुले राखेसँगै हतकडी खोलेर अदालत परिसरमै रहेको क्यान्टिनमा पुर्‍याइयो। थुनुवालाई क्यान्टिनमा खाजा खाने व्यवस्था गरेको प्रहरीले निगरानी नगर्दा उनीहरुले भाग्ने मौका पाएको बताइएको छ।

23 Feb 2021 , 12:58pm
असलम खान