नेपाली समय:

वि.सं २०८१ बैशाख ८   शनिवार

NepaliNP
७० वर्षको इतिहास समेटिएको ‘धौलागिरिको पत्रकारिता’

गलकोट, ५ वैशाख | नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाले सङ्कलन गरेको ७० वर्ष ‘धौलागिरिको पत्रकारिता’ पुस्तक शनिबार लोकार्पण गरिएको छ । पुस्तकको नेपाल पत्रकार महासङ्घका नवनिर्वाचित केन्द्रीय सदस्य छविलाल तिवारी, नेपाल पत्रकार महासङ्घका निवर्तमान अध्यक्ष दिल शिरिष, महासङ्घको तत्कालीन धौलागिरि शाखाका सचिव तथा मुख्य निर्वाचन अधिकृत हिराबहादुर केसी, बागलुङका प्रमुख जिल्ला अधिकारी शिवराज कार्की र जिल्लामा क्रियाशील राजनीतिक दलका नेताहरुले सामूहिकरूपमा पुस्तक लोकार्पण गर्नुभएको नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाले जनाएको छ । 

कार्यक्रममा पुस्तकको समीक्षा गर्दै धौलागिरि बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख हरिप्रसाद पाण्डेयले धौलागिरिको पत्रकारिताको ७० वर्ष लामो इतिहासको विविध खोज, अध्ययन र अनुसन्धानमूलक सामग्रीसहितको पुस्तक सङ्ग्रहणीय र पठनीय भएको बताउनुभयो । 

धौलागिरिको पत्रकारिता अलि फरक र रोचक इतिहास भएको तर लिपिबद्ध नहुँदा निकै समस्या भएको पाइएकाले ७० वर्षको इतिहास, वर्तमान र धौलागिरिको पत्रकारिताका विषय समेटेर पुस्तक प्रकाशन गरेको पुस्तकका सम्पादक तथा नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाका निवर्तमान अध्यक्ष दिल शिरिषले बताउनुभयो । “हस्तलिखितदेखि डिजिटल पत्रकारितासम्म र बागलुङदेखि मुस्ताङ, म्याग्दी र पर्वतसम्मको महासङ्घको इतिहास सबै समेटिएको छ”, शिरिषले भन्नुभयो, “अब धौलागिरिको पत्रकारिता बुझ्न पुस्तक पढे हुन्छ, नयाँ पुस्तालाई सजिलो हुनेछ ।”

सिङ्गो धौलागिरिको पत्रकारिताको सात दशकको अनेकन पाटो केलाउने प्रयास गरिएको उक्त पुस्तकले भोलिको पुस्ताका लागि थप खोज, अध्ययन र अनुसन्धानका लागि पनि सन्दर्भ सामग्रीका रूपमा अमूल्य सम्पत्तिका रुपमा रहने बताइएको छ । पुस्तकमा यस क्षेत्रको पत्रकारिताको सात दशक अवधिको जीवन्त अभिलेखका रूपमा रहने गरी प्रकाशन प्रयास गरिएको नेपाल पत्रकार महासङ्घ बागलुङले जनाएको छ । 

पुस्तकमा २००८ सालमा प्रकाशित हस्तलिखित पत्रिका ‘सहीबाटो’ देखि अहिलेको डिजिटल पत्रकारितासम्मका अभ्यास र अनुभव समावेश गरिएको छ । पुस्तकको पहिलो खण्डमा धौलागिरिको पत्रकारिताको इतिहास, पहिलेका पत्रकारिताका अभ्यास, कठिनाइ,  र चुनौतीहरु समावेश गरिएको छ भने दोस्रो खण्डमा धौलागिरिका पत्रकारिताका विविध आयामलाई समावेश गरिएको छ । तेस्रो खण्डमा धौलागिरिका पत्रकारका अनुभव र अभ्यासको पाटो समावेश छ भने चौथो खण्डमा धौलागिरिमा पत्रकार महासङ्घको शुरुआत, सङ्घर्ष र हालको संस्थागत विकासको अवस्था उल्लेख छ ।

18 Apr 2021 , 10:57am
हाम्रो आवाज