नेपाली समय:

वि.सं २०८० चैत्र १६   शुक्रवार

NepaliNP
अलविदा दिलिप कुमार

असार २३, मुम्बई । ‘ट्र्याजेडी किङ्ग’ दिलिप कुमार र अभिनेत्री सायरा बानोको साथ सदासदाको लागि छुटेको छ । ५५ वर्ष एकसाथ रहेका यी दुईको साथ दिलिपकुमारको निधनले छुटेको हो । ९८ वर्षको उमेरमा बुधबार बिहान दिलिप कुमारले सधैंका लागि यो संसारबाट बिदा लिएका छन् ।

दिलिप कुमारको निधनमा अहिले सबैभन्दा दुःखी सायरा बानो भएकी छन् । दिलिप कुमार बिरामी हुँदासमेत उनी सधैँ साथमै रहन्थिन् । जीवनको हरेक मोडमा दुई एकसाथ रहेका थिए । जस्तै पानी र माछा जस्तो । तर, आज ५५ वर्षमा दिलिप कुमार र सायरा बानोको साथ सदाका लागि छुटेको छ ।

बलिउडमा कयौँ जोडी छन् । जो रिल लाइफबाट रियल लाइफमा जोडिएका छन् । ती मध्ये सबैभन्दा विशेष प्रेमकथा  दिलिप कुमार र सायरा बानोको छ । दुबैले हरेक सुखदुःखमा एक अर्काेको साथ दिएका छन् । यो यस्तो प्रेम कहानी हो, जसको बीचमा २२ वर्षको उमेर अन्तरसमेत छ । तर आजसम्म पनि दुबैको सम्बन्ध एकदमै मजबुत देखिन्छ ।

सायराले १९६६ मा २२ वर्षको उमेरमा ४४ वर्षका दिलिप कुमारसँग विवाह गरेकी थिइन् ।

सायरा १२ वर्षको उमेर देखि नै दिलिप कुमारका लागि पागल थिइन् । तर त्यतिबेला दिलिप कुमार अर्कैको प्रेममा थिए  । दुई पटक प्रेममा असफल दिलिप कुमार सुरुमा सायरा प्रति खासै चासो राख्दैनथिए । उमेरको कारणले पनि दिलिप कुमार सायरासँगको यो सम्बन्ध अगाडि बढाउन चाहँदैन थिए । तर सायराको प्रेमको कारण अन्ततः १९६६ मा दुबैले प्रेम घोषणा गरे । सो समय दिलिप कुमारका लागि देश विदेशका केटीहरु प्राण त्यग्न तयार थिए । तर उनलाई सायरा नै मनपर्यो ।

दिलिप कुमार र सायराले ११ अक्टोबर १९६६ मा विवाह गरेका थिए । विवाह पछि सायराले फिल्मी करियर अगाडि बढाइन् र निकै सफलता पनि प्राप्त भयो । १९७६ पछि उनले अभिनय बन्द गरिन् । त्यो समयदेखि उनी दिलिप कुमारकी पत्नी र गृहणीको रुपमा रहिन् ।

दिलिप कुमारले भने १९४४ को फिल्म ‘ज्वार भाटा’ बाट आफ्नो फिल्मी करियरको शुरुवात गरेका थिए । तर फिल्मले सफलता हात पार्न सकेन । उनलाई १९४७ को फिल्म ‘जुगनु’ बाट अभिनयमा सफलता हात परेको थियो । यो फिल्म पछि दिलिप कुमारलले कहिलै पछि फर्किएर हेर्नु परेन ।

दिलिप कुमारको देवदास, मुगल–ए–आजम लगायत थुप्रै फिल्म हिट छन् । पछिल्लो समय दिलिप कुमार १९९८ फिल्म ‘किला’ मा देखिएका थिए । दिलिपले २०१५ मा पद्म विभुषण, १९९४ मा दादासाहेब फाल्के अवार्डसमेत पाएका छन् ।

7 Jul 2021 , 3:00pm
हाम्रो आवाज