नेपाली समय:

वि.सं २०८० चैत्र १६   शुक्रवार

NepaliNP
बाजुरामा भाइरल ज्वरोका बिरामी बढे

मार्तडी, २ भदौ (रासस) । जिल्लामा भाइरल ज्वरोका बिरामी बढ्न थालेका छन् । भाइरल ज्वरोबाट पाँच वर्षमुनिका बालबालिका सबैभन्दा बढी प्रभावित भएको जिल्ला अस्पतालका प्रमुख डा प्रकाशराज जोशीले जानकारी दिनुभयो । गत पछिल्ला दुई सातामा ३७ बालबालिकाको उपचार गरिएको र  अझै सङ्क्रमणदर नघटेको जनाइएको छ ।

उहाँले भन्नुभयो “बालबालिकामा देखिएको सङ्क्रमण दर वढ्दो , अस्पतालको क्षमताले भ्याएसम्म उपचार भइरहेको छ ।” अनमी विष्णुकुमारी रावलले जिल्ला अस्पतालमा उपचार हुन नसकेका चार  बालबालिकालाई रिफर गरिएको जानकारी दिनुभयो  । 

 मौसमी सङ्क्रमणजस्तो देखिए पनि ज्वरो र निमोनियाको सङ्क्रमणका बिरामी वृद्धिहुँदै गएको छ । अस्पतालमा दैनिक १५ देखि २० बिरामी उपचारमा आउने सूचना अधिकारी नृपराज गिरीले जानकारी दिनुभयो ।

उहाँका अनुसार अस्पतालमा १० भन्दा बढी बिरामी भर्ना भइ  उपचाररत छन् ।  खप्तड छेडेदह गाउँपालिका पनि  भाइरल ज्वरोका बिरामी बढेको आटीचौर स्वास्थ्यचौकीका इन्चार्ज रमेशबहादुर ओलीले जानकारीदिनुभयो । यसैगरी पूर्वी उत्तरी भेगको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा भाइरलका बिरामीको सङ्ख्या बढेका छन् । 

एक सय देखि १०५ डिग्रीसम्म ज्वरो आएका र निमोनिया, खोकी र पखालाका कारण थला परेका बिरामी दिनप्रतिदिन धान्नै नसकिने गरी आउने गरेको जिल्ला अस्पतालका स्टाफ नर्स निशा रोकायाले बताउनुभएको छ । उनीहरुलाई अक्सिजनका सहयोगमा उपचार गर्ने गरेको उहाँले जानकारीदिनुभयो ।

18 Aug 2021 , 8:46am
हाम्रो आवाज