नेपाली समय:

वि.सं २०८० चैत्र १६   शुक्रवार

NepaliNP
अविरल वर्षाका कारण अरनिको राजमार्ग र ताँथली नाला सडक बन्द

भदौँ २१, काठमाडौँ । रातिदेखि परेको अविरल वर्षाका कारण काभ्रे प्रवेश गर्ने दुईवटै सडक अवरुद्ध हुँदा अरनिको राजमार्ग खण्ड बन्द भएको छ । राजमार्ग बन्द भएर यातायात अवरुद्ध हुँदा भक्तपुरको सूर्यविनायकसम्म सयौँ गाडी बिहानैदेखि लामबद्ध भएर रोकिएका छन् ।
    
भक्तपुरबाट काभ्रेपलाञ्चोकतर्फ जाने दुई सडकमध्ये अरनिको राजमार्ग खण्डको बनेपा पुलबजार डुबानमा पर्दा पुलबजारदेखि भक्तपुरको सूर्यविनायकसम्म सडक बन्द भएको महानगरीय प्रहरीवृत्त जगातीका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो । 
    
बिहानैदेखि काभ्रेदेखि सूर्यविनायकसम्म सडकको दुवैतर्फ गाडी लामबद्ध रहेको जानकारी दिँदै उहाँले पुलबजार खुलेर सहजरुपमा यातायातका साधन जान सक्ने अवस्था नभएसम्म समस्या हुने बताउनुभयो । उहाँले सडक नखुलेसम्म काभ्रे जाने यातायातका साधनलाई यो सडक भएर नआउनसमेत आग्रह गर्नुभयो । बिहान १० बजेसम्म यातायातको साधनको चाप सडकमा बढ्दै गएको प्रहरीको भनाइ छ ।
    
काभ्रे जाने वैकल्पिक सडकका रुपमा रहेको भक्तपुरको च्यामासिंह ताँथली, नाला हँुदै बनेपा निस्कने सडकसमेत अवरुद्ध हुँदा यो सडक भएर जाने सवारीसाधन ताँथली र गुम्बामा दुवैतर्फ समेत रोकिएका छन् । 
    
राति भक्तपुर र काभ्रेको सिमानामा पर्ने चाँगुनारायण नगरपालिका–९ भञ्ज्याङमा पहिरो गएर सडक अवरुद्ध हुँदा अरनिको राजमार्गको विकल्पका रुपमा यो सडक हुँदै गएका सवारी साधन पनि पाँच घण्टा भञ्ज्याङमा रोकिएका छन् ।
    
प्रहरी नायब उपरीक्षक थापाले ताँथली नाला सडकको पहिरो प्रहरीले हटाएर एकतर्फी सवारीसाधन चलाउन शुरु गरेको बताउनुभयो । अरनिको राजमार्ग अवरुद्ध हुँदा यही मार्ग भएर गएका र बनेपाबाट आएका सयौँ सवारी साधन दुईतर्फ नै रोकिएका छन् । प्रहरीले एकतर्फी सडक सञ्चालन गराइए पनि सवारीसाधन भने लामो जाममा रहेका छन् । थप पहिरो खस्ने सम्भावना रहेको स्थानीयवासीले बताएका छन् । 
    
यसैबीच वर्षाका कारण हनुमन्ते र मनोहरा खोलामा पानीको बहाब उच्चरुपमा बढेको छ । मनोहरा खोलामा पानीको बहाब बढेपछि खोला आसपासका केही क्षेत्र डुबानमा परेका छन् । लोकन्थलीस्थित मनोहरा किनारामा रहेको सुकुम्बासी बस्ती डुबानमा परेको प्रहरीले जनाएको छ । हनुमन्ते किनाराका बासिन्दालाई पनि खोलाको बहाव बढेकाले सचेत रहन प्रहरीले आग्रह गरेको छ ।

6 Sep 2021 , 1:06pm
हाम्रो आवाज