नेपाली समय:

वि.सं २०८१ बैशाख १३   बिहीवार

NepaliNP
बागमती प्रदेशको ४ जिल्लामा काँग्रेसको वडा अधिवेशन हुँदै

भदौँ २१, काठमाडौँ । बागमती प्रदेशको ४ जिल्लामा सोमबार नेपाली काँग्रेसको वडा अधिवेशन हुँदैछ । प्रदेशको ललितपुर, नुवाकोट, धादिङ र चितवनमा काँग्रेसले वडा अधिवेशन गर्न लागेको हो ।

ललितपुरमा अधिवेशनको रौनक

६ वटा स्थानीय तह रहेको ललितपुरमा काँग्रेसको वडा अधिवेशनको रौनक छाएको नेता रामकृष्ण चित्रकारले बताए । ६ वटा स्थानीय तहका ७१ वटै वडा एकैसाथ सुरु भएको कांग्रेसको वडा अधिवेशनले कार्यकर्ताहरूमा उत्साह थपेको उनले बताए ।

५र५ हजार पुराना र नयाँ गरी कुल १० हजार क्रियाशिल सदस्य रहेको ललितपुरका सबै वडाहरूमा सर्वसम्मत रुपमा सहमती गरेर नेतृत्व चयन गर्ने प्रयास भइरहेको उनको भनाई छ ।

आजको अधिवेशनबाट प्रति वडा न्युनतम १६ र अधिकतम ३६ जना प्रतिनिधिलाई नेतृत्वमा चयन गर्ने उनले बताए ।

नुवाकोटमा ३२ वडामा सर्वसम्मत, प्रक्रियागत घोषणा गर्न बाकी

नुवाकोटको सबै स्थानीय तहको वडाहरूमा अधिवेशनको लागि मतदान अधिकृत खटाइसकेको छ ।

जिल्लाका १२ वटा स्थानीय तहका ८८ वटा स्थानीय तहमा सोमबार बिहानैदेखि अधिवेशनको रौनक छाएको नेपाली काँग्रेस नुवाकोटका सभापति जगदीश्वर नरसिंह केसीले बताए ।

उनका अनुसार जिल्लाका ८८ वटा वडा मध्ये ३२ वटा वडामा आन्तरिक छलफलबाट नेतृत्वको लागि सहमति जुटिसकेको छ भने प्रक्रियागत रुपमा घोषणा गर्न भने बाँकी रहेको छ ।

अन्य वडाहरूमा भने सर्वसम्मत रुपमा नेतृत्व चयन गर्न प्रयास भइरहेको उनले बताए ।

८ हजार ९७२ जना नयाँ र ५ हजार ६५६ जना पुराना गरी कुल १४ हजार ६२८ जना क्रियाशिल सदस्यहरुले अधिवेशनमा भाग लिने उनले बताए ।

नुवाकोटको वडा अधिवेशनबाट १ हजार ८ सयभन्दा बढी व्यक्ती नेतृत्वको लागि चयन हुने उनको भनाइ छ ।

धादिङमा सर्वसम्मतिको प्रयास

१२ हजार क्रियाशील सदस्य रहेको धादिङमा प्रायजसो वडाहरूमा सोमबार बिहानैदेखि चुनावी माहोल बनेको नेपाली कांग्रेस धादिङबाट निर्वाचित बागमती प्रदेशसभा सदस्य राजाराम कार्कीले जानकारी दिए ।

हर्ष उल्लासका साथ नेपाली कांग्रेस धादिङ वडाहरूको नेतृत्व चयनका लागि जुटेको उनले बताए ।

१२ वटा स्थानीय तहका १०४ वटा वडामा एकैसाथ अधिवेशन सुरु भएको र सबै वडाहरूमा सर्वसम्मत रुपमा वडाको नेतृत्व चयनको लागि प्रयास भइरहेको उनले बताए ।

सम्भव रहेसम्म सर्वसम्मत रुपमा नेतृत्व प्रदान गर्ने गरी छलफल भइरहेको र सहमतिको प्रयास विफल भए निर्वाचन प्रक्रियामा जानु पर्ने भएकाले भोलीसम्म समय लाग्ने उनको भनाई छ ।

सर्वसम्मत नेतृत्व दिने प्रयासमा चितवन

२ हजार ९ सय प्रतिनिधिहरूलाई नेतृत्व प्रदान गर्ने कार्यमा चितवनमा सक्रिय रुपमा वडा अधिवेशन सम्पन्न गर्न लागिएको छ ।

सवै वडाहरूमा सर्वसम्मत रुपमा नेतृत्व चयन गरी आज नै अधिवेशन सक्ने गरी मतदान अधिकृतहरूले काम गरिरहेको नेपाली काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले बताए ।

७ स्थानीय तह रहेको चितवनमा ९८ वटा वडाहरू रहेका छन् । सबै वडाहरूमा मतदान अधिकृतहरूले अधिवेशनलाई सौहार्दपूर्ण वातावरणमा जारी राखेको उनको भनाई छ ।

१७ हजार ८४ जना नयाँ र १० हजार ८०७ जना पुराना गरी कुल २७ हजार ८५५ जना क्रियाशिल सदस्यहरुले नेपाली कांग्रेस चितवनको वडा अधिवेशनमा भाग लिने उनले बताए ।

6 Sep 2021 , 1:18pm
हाम्रो आवाज