नेपाली समय:

वि.सं २०८० चैत्र १६   शुक्रवार

NepaliNP
संयुक्त राष्ट्रमा भारत भर्सेस पाकिस्तान

काठमाडौं , असोज ९ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले शनिबार संयुक्त राष्ट्रको महासभालाई सम्बोधन गरेका छन् । खानले आफ्नो भाषण कश्मीर र अफगानिस्तानमा केन्द्रित गरेका थिए । उनले कश्मीरमा एकतर्फी कदम उठाएर भारतले जबरजस्ती कब्जा गरेको आरोप लगाए ।

जवाफमा संयुक्त राष्ट्रमा भारतीय राजदूत स्नेहा दुबेले पूरा जम्मू–कश्मीर र लद्दाख भारतको अभिन्न अङ्ग रहेको जवाफ दिइन् । यसमा पाकिस्तानले कब्जा गरेको हिस्सा पनि भारतकै भएको उनको तर्क थियो । ‘पाकिस्तानले त्यसलाई तुरुन्त छाड्नुपर्छ,’ उनले भनिन् ।


इमरानको भाषणका ५ मुख्य कुरा:

१. मनी लन्ड्रिङ राकिनुपर्छ 

खानले मनी लन्ड्रिङले विकासशील र गरिब देशलाई ठूलो नोक्सानी पु–याइरहेको छ । धनी देशहरूले इकोनोमिक इमिग्रेन्टहरुलाई शरण दिनुहुँदैन । यो विकासशील र गरिब राष्ट्रका लागि ठूलो अन्याय हो । यसलाई रोक्न सख्त कदम उठाउनुपर्छ ।

२. इस्लामोफोबिया र कश्मीर

अमेरिकामा ९/११ को हमलापछि विश्वभर दक्षिणपन्थीहरुले मुसलमानमाथि हमला सुरु गरे । भारतमा यसको सबैभन्दा ठूलो असर छ । त्यहाँ आरएसएस र भाजपा मुस्लिमहरूलाई निशाना बनाइरहेका छन् । मुस्लिममाथि भेदभाव भइरहेको छ । कश्मीरमा एकतर्फी कदम उठाएर भारतले जबरजस्ती कब्जा गरेको छ ।

मिडिया र इन्टरनेटमा प्रतिबन्ध छ । जनसङ्ख्याको स्थितिलाई परिवर्तन गरिँदैछ । बहुसङ्ख्यकलाई अल्पसङ्ख्यकमा बदलिँदैछ । विश्वले ‘सेलेक्टिभ रियाक्सन’ दिन्छ, यो दुर्भाग्य हो । यो दोहोरो मापदण्ड हो । सैयद अली शाह गिलानीको परिवारमाथि अन्याय गरियो । म यो सदनसँग गिलानीको परिवारलाई उनको अन्तिम संस्कार इस्लाम तरिकाले गर्न अनुमति दिन माग गर्दछु ।

३. भारतसँग वार्ताको लागि तयार

हामी भारतसँग शान्ति चाहन्छौँ । तर भाजपा त्यहाँ दमन गरिरहेको छ । अब बल भारतको कोर्टमा रहेको छ । भारतले कश्मीरमा उठाएको कदम फिर्ता लिनुपर्छ । कश्मीरमा बर्बरता र जनसङ्ख्यामा परिवर्तन बन्द गर्नुपर्छ । भारतले सैन्य ताकत बढाइरहेको छ । यसले यस क्षेत्रको सैन्य सन्तुलन बिग्रिरहेको छ । दुवै देशसँग परमाणु हतियार रहेको छ ।

४. अफगानिस्तानबारे

अफगानिस्तानमा बिग्रँदो अवस्थाका लागि पाकिस्तानलाई जिम्मेवार ठहराउने प्रयास भइरहेको छ । तर, त्यसको सबैभन्दा ठूलो मूल्य हामीले चुकाएका छौँ । ८० हजार मानिसले ज्यान गुमाए । १२० बिलियन डलरको क्षति भयो । हामीले अमेरिकाका लागि युद्ध लड्यौँ । सन् १९८३ मा राष्ट्रपति रोनाल्ड रेगनले मुजाहिद्दिनलाई हिरो बताएका थिए । जब सोभियत सेना फिर्ता भयो, अमेरिकाले अफगानिस्तानलाई एक्लै छाड्यो ।

हामीमाथि प्रतिबन्ध लगाइयो । जुन मुजाहिद्दिनलाई हामीले प्रशिक्षण दियौँ, उनीहरू नै हामी विरुद्ध खडा भए । उनीहरूको तालिबानलाई सहानुभूति रहेको छ । अमेरिकाले पाकिस्तानमा ४८० वटा ड्रोन हमला ग–यो । यसले ठूलो नोक्सानी भयो । जो मारिए उनीहरूले अमेरिकासँग नभएर पाकिस्तानसँग बदला लिन्छन् । हामीले हाम्रो राजधानीलाई किल्लामा बदल्नु प–यो ।

५. तालिबानलाई मान्यता

हामीसँग मजबुत सेना र विश्वको उत्कृष्ट जासुसी एजेन्सी रहेको छ । हामीलाई हर चीजका लागि दोषी ठहराइँदैछ । अफगानिस्तानको सैन्य समाधान छैन । मैले यो कुरा बाइडेन सिनेटर हुँदा नै कुरा राखिसकेको छु । आज हामीले सोच्नुपर्छ, तीन लाख अफगान सेना कसरी हा–यो । तालिबान कसरी आयो । अब के गर्नुपर्छ ? दुईवटा बाटा छन् । हामीले अफगानिस्तानलाई एक्लै छाड्यौँ भने आगामी वर्षसम्म आधाभन्दा बढी जनसङ्ख्या गरिबिको रेखामुनि पुग्नेछन् । यस्तो भयो भने अफगानिस्तानमा फेरि आतङ्कवाद फैलिनेछ ।

अब विश्वले तालिबानको सरकारलाई मान्यता दिनुपर्छ । तालिबानको वाचामाथि भरोसा गर्नुपर्छ । उनीहरूले परिवर्तनको वाचा गरेका छन् । यस्तो भयो भने सबैको जीत हुनेछ । २० वर्षमा जे भयो त्यसबाट के हासिल भयो ? अफगानिस्तानलाई मद्दतको आवश्यकता रहेको छ । यसमा ढिलाइ भयो भने भारी पर्न सक्छ ।

यसपटक इमरान अमेरिका गएनन् उनले रेकर्डेड भाषण संयुक्त राष्ट्रमा पठाएका थिए । एजेन्सी

25 Sep 2021 , 11:01am
हाम्रो आवाज