नेपाली समय:

वि.सं २०८० चैत्र १६   शुक्रवार

NepaliNP
वीरगञ्जमा महिला उद्यमी राष्ट्रिय सम्मेलन

वीरगञ्ज, २१ असोज । मुलुककै आर्थिक राजधानी भनेर चिनिने वीरगञ्जमा आगामी कात्तिक ५ गते पहिलोपटक नेपाली महिला उद्यमी राष्ट्रिय सम्मेलन आयोजना गर्ने तयारी गरिएको छ । नेपाली युवा उद्यमी मञ्च ९एनवाइइएफ० को आयोजनामा उद्यमशीलतामा नेपाली महिलाको सहभागिता बढाउने उद्देश्यले मोफसलमै पहिलोपटक यहाँ सम्मेलन गर्न लागिएको हो । 

सम्मेलनबाट महिलामा उद्यमशीलता प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास लिइएको छ । लेडिजसर्कल नेपालसँगका सहकार्यमा हुने उक्त सम्मेलनमा मुलुकभरका करिब १०० भन्दा बढी सफल महिला उद्यमीको सहभागिता रहने सम्मेलन संयोजक मनिषा सुनुवारले जानकारी दिनुभयो । सम्मेलनमा विविध क्षेत्रमा सहभागी महिला उद्यमीको मेहेनत, सङ्घर्ष तथा सफलताका विषय प्रस्तुति रहने लेडिजसर्कल नेपालका निवर्तमान अध्यक्ष रश्मी दासले बताउनुभयो । सम्मेलनमार्फत विभिन्न क्षेत्रमा व्यवसायमा सफल महिला उद्यमीको सफलता, सङ्घर्ष र धैर्यताका अनुभव आदानप्रदान गरिने छ ।  

व्यवसायमा स्थापित उद्यमी र स्टार्टअपबीच हुने सम्मेलनबाट सहभागीलाई ज्ञान, सीप, तथा क्षमता अभिवृद्धिमा प्रोत्साहन मिल्ने अपेक्षा गरिएको एनवाइइएफ वीरगञ्जका अध्यक्ष अनुप अग्रवालले जानकारी दिनुभयो । उद्यममा महिलाले भोग्नुपरेका समस्यालाई उठान गर्ने र समाधानका उपायमा गहन छलफल गर्नु सम्मेलनको मूल उद्देश्य हो । 

सम्मेलनमा हुने विभिन्न सत्रका विषयवस्तु व्यवसायमा नवप्रवेशीका लागि प्रेरणाको स्रोत बन्न सक्ने दाबी गरिएको छ । सम्मेलनमा सफल उद्यमी र स्टार्टअपहरूबीचको अनुभव साटासाटले व्यवसायको क्रममा आउने समस्यालाई अवसरका रुपमा रुपान्तरण गर्ने दक्षता विकास हुने विश्वास आयोजकको छ । 

अहिले पनि आर्थिकरुपमा महिलाको सहभागिता र सक्रियता न्यून भएको अवस्थामा आयोजना हुन गइरहेको सम्मेलनले उद्यमशीलता प्रवद्र्धन, नवप्रवर्तन र व्यावसायिक चुनौती सामनाको सामथ्र्य अभिवृद्धि गर्ने अपेक्षा गरिएको हो । जनसङ्ख्यामा आधाभन्दा बढी हिस्सा ओगट्ने महिलाको आर्थिक सशक्तीकरण नभई अर्थसामाजिक विकास सम्भव नहुने आयोजकको निष्कर्ष छ । 

7 Oct 2021 , 11:01am
हाम्रो आवाज