नेपाली समय:

वि.सं २०८१ बैशाख ७   शुक्रवार

NepaliNP
मुख्यमन्त्री शाक्यले आज विश्वासको मत लिने

असाेज २४, काठमाडौं । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज संसदबाट विश्वासको मत लिने भएकी छन् । गत भदौ २ गते मुख्यमन्त्री नियुक्त शाक्यले नेकपा एमाले विभाजनका कारण अल्पमतमा परेपछि विश्वासको मत लिने भएकी हुन् । मुख्यमन्त्री शाक्यका तर्फबाट विश्वासको मत सम्बन्धी प्रस्ताव संसद् सचिवालयमा दर्ता भइसकेको छ । गत शुक्रबार मुख्यमन्त्री शाक्यका प्रमुख राजनीतिक सल्लाहकार माधव अर्यालले विश्वास मत सम्बन्धी प्रस्ताव संसद् सचिवालयका सचिव कृष्णहरि खड्का मार्फत दर्ता गराएका छन् ।

मुख्यमन्त्रीले विश्वासको मत लिने सम्बन्धी प्रस्तावको प्रक्रिया अगाडि बनाउनेबारेमा कार्य व्यवस्था परामर्श समितिले निर्णय गर्ने सचिव खड्काले बताए । उनका अनुसार आइतबार ११ बजे बस्ने कार्य व्यवस्था परामर्श समितिको बैठकले मुख्यमन्त्रीको विश्वासको मत सम्बन्धी प्रस्तावको प्रक्रिया टुङ्ग्याउने छ ।

कार्य व्यवस्थाको निर्णय अनुसार मुख्यमन्त्री आजै ३ बजे बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत सम्बन्धी प्रस्ताव अघि बढाउने उनले बताए । संविधानको धारा १८८ को उपधारा २ अनुसार मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा प्रदेश सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

गत भदौ २७ गते नेकपा एमाले विभाजन तथा नेकपा एकीकृत समाजवादी पार्टीको आधिकारिकता र आवद्ध सांसदहरुको विवरण सहितको पत्र संसद् सचिवालयमा दर्ता भएपछि मुख्यमन्त्री शाक्य आधिकारिक रुपमा अल्पमतमा परेकी थिइन् ।


यस्तो छ मुख्यमन्त्री शाक्यको अवस्था

बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यले संसदबाट विश्वासको मत पाउने अवस्था देखिँदैन । प्रदेशसभामा प्रतिनिधित्व गर्ने ८ वटा दलमध्ये सबैभन्दा ठुलो दल नेकपा एमालेको तर्फबाट शाक्यले सरकारको नेतृत्व गरेकी हुन् । बागमती प्रदेशमा नेकपा एमालेको ४३, नेकपा माओवादी केन्द्रको २३, नेपाली काँग्रेसको २२, नेकपा एकीकृत समाजवादीको १३, विवेकशील साझा पार्टीको ३, नेमकिपाको २, राप्रपाको २ र जसपाको १ जना सांसदले प्रदेशसभामा प्रतिनिधित्व गर्दछन् ।

५६ सांसद् रहेको नेकपा एमाले विभाजनपछि भने ४३ जनामा खुम्चिएको हो । बागमती प्रदेशमा नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस, नेकपा एकीकृत समाजवादी र जसपाको संयुक्त गठबन्धनको सरकार बन्ने निश्चित छ । गठबन्धनको सरकारको नेतृत्व नेकपा एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दलका नेता राजेन्द्र पाण्डेले गर्ने निर्णय भएको छ ।

मुख्यमन्त्री शाक्यको विश्वासको मत लिने सम्बन्धी प्रस्तावबारे प्रदेशसभामा प्रतिनिधित्व गर्ने साना दलहरु तटस्थ बस्ने भएका छन् । साना दलहरु तटस्थ बस्दा मुख्यमन्त्री शाक्यलाई थप ८ मत कम हुन्छ । 

10 Oct 2021 , 11:15am
हाम्रो आवाज