नेपाली समय:

वि.सं २०८१ बैशाख ७   शुक्रवार

NepaliNP
राप्रपाले फेरि गर्‍यो महाधिवेशन कार्यतालिका हेरफेर

असाेज २४, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले फेरि जिल्ला अधिवेशन गर्ने समय थप गरेको छ । राप्रपाले तोकिएको समयमा जिल्ला अधिवेशन गर्न नसकेपनि फेरि म्याद थप्ने निर्णय गरेको हो । पार्टी अध्यक्षहरु डा प्रकाशचन्द्र लोहनी, पशुपति शमशेर राणा र कमल थापाको उपस्थितिमा बसेको केन्द्रीय बिशेष समितिको बैठकले जिल्ला अधिवेशन गर्ने म्याद कार्तिक १४ गतेसम्म थप गर्ने निर्णय गरेको हो । राप्रपाले असोज २० गतेसम्म जिल्ला अधिवेशन गर्ने म्याद पछिल्लो समय थप गरेको थियो । तर सो अवधिमा ५२ जिल्लाको मात्रै अधिवेशन सम्पन्न भएको छ । 

यस्तै बैठकले सक्रिय सदस्यता वितरण तथा डिजिटल इन्ट्री गर्ने म्याद कार्तिक १० गतेसम्मका लागि थप गर्ने निर्णय पनि गरेको केन्द्रीय सचिवालय प्रमुख भास्कर भद्रा र निमित्त प्रमुख राजेन्द्र गुरुङले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

यसैगरी प्रदेश सभा निर्वाचन क्षेत्रमा सक्रिय सदस्यहरुबाट महाधिवेशन प्रतिनिधिहरुको निर्वाचन कार्तिक ११ देखि १७ गतेसम्म र  ७ वटै प्रदेश कार्य समितिको अधिवेशन गर्न कार्तिक २३ गतेसम्म समय थप गर्ने निर्णय पनि बैठकले गरेको छ । 

प्रदेश २ का साथै भक्तपुर र पाँचथर  जिल्लाको हकमा सक्रिय सदस्यता वितरण तथा डिजिटल इन्ट्री गर्ने म्याद कार्तिक १५ गतेसम्म, प्रदेश सभा निर्वाचन क्षेत्रमा सक्रिय सदस्यहरुबाट महाधिवेशन प्रतिनिधिहरुको निर्वाचन १७ गतेसम्म र जिल्ला अधिवेशन २०७८ कार्तिक २३ गतेसम्म निर्णय पनि बैठकले गरेको छ । परिमार्जित महाधिवेशन कार्यतालिका कार्तिक १ बाट लागु हुने विज्ञप्तिमा उल्लेख छ । 
राप्रपाको कार्तिक २७, २८, २९ र ३० गते काठमाडौंमा महाधिवेशन तय गरिएको छ । हाल पार्टीले महाधिवेशन नसारेको भएपनि सो समयमा महाधिवेशन हुन नसकेको निष्कर्ष निकाल्दै केही समय पर सार्नेगरी छलफल भइरहेको छ । 

 

10 Oct 2021 , 1:24pm
हाम्रो आवाज