नेपाली समय:

वि.सं २०८१ बैशाख ७   शुक्रवार

NepaliNP
वैशाख ११ बाट मेलम्चीको पानी काठमाडौँको धारामा

बैशाख ६, काठमाडौं । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का कार्यकारी अधिकृत मिलन शाक्यले मेलम्चीको थप १७ करोड लिटर र पुरानो पाइपबाट २ करोड लिटर प्रत्येक दिन वितरण हुने बताएका छन् । उनले काठमाडौँको नयाँ एक लाख ६० हजार धारामा मेलम्चीको १७ करोड लिटर पानी वितरण गरिने जानकारी दिएका हुन् । 

शाक्यले काठमाडौँ उपत्यकाको ४३ लाख जनसङ्ख्यालाई लक्षित गरेर केयुकेएलले काम गरिरहेको भए पनि हाललाई चार सय १० किलोमिटर पाइपलाइनमा मात्र पानी वितरण हुने जानकारी दिए । आगामी आइतबारदेखि केयुकेएलले महाङ्काल चौर, मिनभवन, अनामनगर, बाँसबारी, महाराजगन्ज, बालाजु, खुमलटार, कीर्तिपुर, थिमीको तिगेरी र कटुन्जे रिजर्भवेर टैंकबाट पानी वितरण हुने भएको छ । 

खानेपानी मन्त्री उमाकान्त चौधरीले आगामी वैशाख ११ गतेदेखि काठमाडौँ उपत्यकाका १० वटै पानी रिजर्भ टैंकीबाट समानुपातिक ढङ्गले खानेपानी वितरणको व्यवस्था गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् । मेलम्ची खानेपानी आयोजनाको पानी प्रशोधन केन्द्रमा आयोजित कार्यालय प्रमुखहरूलाई निर्देशन दिँदै उनले भने, ‘आगामी वैशाख ११ गते काठमाडौँ उपत्यकाका नागरिकका घरको धारामा पानी आउनु पर्छ, कुनै बहाना वा कारण देखाएर रोक्न मिल्दैन । पानी वितरणको लागि धेरै वटा कमिटी बनाएर जिम्मेवारीबाट भाग्ने बहाना काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले गर्न पाउँदैन ।

गत चैत २९ गते सिन्धुपाल्चोकका हेलम्बुस्थित मेलम्ची खानेपानी आयोजनाको हेडवर्क्स  क्षेत्रको वैकल्पिक सुरुङबाट पानी पठाएपछि मंगलबार सुरुङको पानी सुन्दरीजल आइसकेको छ । उनले काठमाडौँको कुनै ठाउँमा पुरानो र मेलम्चीको नयाँ धारामा गाडी धुने गरी पानी आउने र कुनै नागरिकको घरमा पिउनको लागि एउटा पनि धाराबाट पानी नआउने अवस्था नबनाउन आग्रह गरे । 

उनले वर्षायाममा मेलम्ची नदीमा पुन बाढी आउन सक्ने सम्भावनालाई दृष्टिगत गरी बाढीको पूर्व सूचना दिने प्रणालीको विकास गर्न साइरन जडान गर्नु पर्नेमा जोड दिए । उनले आयोजनाका पुराना गेटलाई हटाएर नयाँ हाईड्रोलिक गेट हाल्न निर्देशन दिए । 

खानेपानी सचिव सुरेश आचार्यले मेलम्चीको पानी उपत्यकामा समानुपातिक ढङ्गले वितरणको लागि पूर्व तयारी गर्नु पर्ने भन्दै चुहावट नियन्त्रणमा विशेष सतर्क हुनु पर्ने बताए । खानेपानी मन्त्रालयका सहसचिव तिरेशप्रसाद खत्रीले १७ करोड लिटर पानी उपत्यकामा थप वितरण गरिने बताए । 

काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक सञ्जीव राणाले कतै दुई वटा धारामा पानी आउने र कतै दुई वटै धारामा पानी नआउने अवस्थामा उपभोक्तालाई असमानताको महसुस हुने र महसुल सङ्कलनमा समस्या हुने बताए । 

19 Apr 2022 , 7:16pm
हाम्रो आवाज