नेपाली समय:

वि.सं २०८१ बैशाख १२   बुधवार

NepaliNP
सरकारले तोकेको भाडा दर लागु गर्नु पर्ने माग राखेर ट्रक व्यवसायी आन्दोलित

१७ जेठ,बुटवल । सरकारले तोकेको भाडा दर नपाएको भन्दै ट्रक व्यवसायीहरु आन्दोलित भएका छन् ।

उनीहरुले सरकारले तोकेको भाडा दर कार्यान्वयनमा सरोकारवालालाई दबाब दिन जेठ २० गतेदेखि ढुवानी कार्य रोक्ने निर्णय गरेका हुन् ।

पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलको अगुवाइमा लुम्बिनी प्रदेशका अन्य ट्रक समितिहरु समेतको सहकार्यमा उनीहरु आन्दोलित भएका छन् । पश्चिमाञ्चल यातायात व्यवसायी समिति मातहत मात्रै २ हजार बढी ट्रक सञ्चालनमा छन् ।

सरकारले जेठ २ गतेदेखि लागु गरेको भाडा भैरहवादेखि काठमाडौं र पोखराका लागि ३१ हजार ५ सय ८० रुपैयाँ रहेको छ । तर उद्योगहरु र ट्रान्सपोर्ट व्यवसायीका कारण सरकारले तोकेको भाडा दर नपाउँदा व्यवसाय संकटमा परेपछि आन्दोलनमा उत्रिनुपरेको पश्चिमाञ्चल यातायात व्यवसायी समितिका अध्यक्ष यमप्रसाद पाण्डेले बताए ।

भाडा दर कार्यान्वयन गर्न ट्रक समितिहरुले ट्रकहरुलाई एकै थलोमा पार्किङ गरेर उद्योग तथा ट्रान्सपोर्ट व्यवसायीलाई एकद्वार प्रणालीमार्फत ट्रक उपलब्ध गराउने निर्णय गरेका छन् ।

सरकारले तोकेको भाडा दर नदिने उद्योग तथा ट्रान्सपोर्ट व्यवसायीलाई ट्रक नदिने उनीहरुको निर्णय छ । नेपाल ट्रक यातायात व्यवसायी महासंघका केन्द्रीय सदस्य विरेन्द्र यादवले भाडा दर कार्यान्वयनका लागि व्यवसायीले गर्ने आन्दोलनमा महासंघको समर्थन रहेको बताए ।

भाडादर कार्यान्वयनमा सम्बन्धित सरकारी निकायले सहयोग गर्नुपर्नेमा बेवास्ता गरेको यादवले गुनासो गरे । ढुवानी व्यवसायी संघ रुपन्देहीका अध्यक्ष श्याम हमालले सरकारले तोकेको भाडा दर कार्यान्वयनमा ढुवानी व्यवसायीले सहयोग गर्ने र कम भाडामा ढुवानी गर्ने व्यवसायीलाई कारवाहीको दायरामा ल्याउने बताए ।

31 May 2022 , 4:33pm
हाम्रो आवाज