नेपाली समय:

वि.सं २०८० चैत्र १५   बिहीवार

NepaliNP
प्रदेश १ को सरकारले २ महिनामा १२ अर्ब बजेट कसरी खर्च गर्ला ?

असार २, काठमाडौँ । प्रदेश १ सरकारले चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा कुल बजेटको ५० प्रतिशत खर्च गरिसकेको छ भने आर्थिक वर्षको अन्त्यसम्ममा ८० प्रतिशतभन्दा माथि खर्च हुने अनुमान गरेको छ । प्रदेशसभामा आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले प्रस्तुत गरेको बजेट वक्तव्यमा चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म प्रदेश सरकारको खर्च १७ अर्ब ३२ करोड १५ लाख भई गत वर्षको सोही अवधिको तुलनामा १।२९ प्रतिशतले वृद्धि भएको उल्लेख छ । हालसम्म ३ अर्ब १६ करोड ६६ लाख राजस्व संकलन भएको छ ।

चालु आर्थिक वर्षको बजेट ३२ अर्ब ४६ करोडमध्ये वैशाख मसान्तसम्ममा कुल २१ अर्ब ९९ करोड १३ लाख प्राप्ति भएको छ भने चालु आर्थिक वर्षको अन्त्यसम्ममा ३३ अर्ब ७ करोड प्राप्त हुने संशोधित अनुमान छ । कुल बजेटको ८० प्रतिशत खर्च हुने लक्ष्य प्राप्ति गर्न जेठ र असारमा १२ अर्ब ५४ करोड १७ लाख रकम खर्च गर्नुपर्ने देखिन्छ । उक्त बजेट खर्च असार मसान्तसम्ममा सक्न निकै चुनौतीपूर्ण देखिएको अर्थविज्ञ डा। अर्जुन बराल बताउँछन् ।

‘प्रदेश सरकारले खर्च गर्ने संयन्त्रको विकास गर्न सकेन । बजेट कति आयो भन्दा पनि खर्च गर्न सक्छ सक्दैन भन्ने कुरा चालु आर्थिक वर्षको बजेटले पनि बताउँछ,’ उनले भने, ‘असारे विकासले प्रदेशलाई समृद्ध बनाउँदैन, हाम्रो पुरानै परिपाटी परिवर्तन हुन सकेन ।’

प्रदेश १ सरकारले आगामी आर्थिक ३९ अर्ब ७३ करोड ८३ लाखको अनुमानित बजेट संसदमा प्रस्तुत गरेको छ । यो बजेट चालु आर्थिक वर्षको भन्दा ७ अर्ब २७ करोडले बढी हो । शेरधन राई नेतृत्वको प्रदेश सरकारले भने चालु आर्थिक वर्षका लागि ३२ अर्ब ४६ करोड ९२ लाख बजेट ल्याएको थियो ।

यस्तै प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा राजस्व ८८ करोड वृद्धि हुने अपेक्षा गरिएको छ । तर, चालु आर्थिक वर्षमा अहिलेसम्ममा ३ अर्ब १६ करोड ६६ लाख राजस्व संकलन भएको छ । असार मसान्तसम्ममा लक्ष्यमा पुग्नका लागि प्रदेश सरकारले ९३ करोड ११ लाख रुपैयाँ राजस्व संकलन गर्नुपर्ने देखिन्छ ।

आर्थिक मामिला तथा योजनामन्त्री आङ्बोले लक्ष्य अनुसार राजस्व संकलन हुने र खर्च पनि ८० प्रतिशत हुने दाबी गरे । ‘हामीसँग अझै असार महिना बाँकी छ । असार महिनामा अधिकांश राजस्व पनि संकलन हुने र भुक्तानी पनि बढी हुने भएकोले हामी ८० प्रतिशतभन्दा बढी खर्च गर्न सक्छौं भन्ने विश्वास छ,’ मन्त्री आङ्बोले भने ।

16 Jun 2022 , 3:46pm
हाम्रो आवाज