नेपाली समय:

वि.सं २०८१ बैशाख १४   शुक्रवार

NepaliNP
थारु नाच संरक्षणमा युवा

तुलसीपुर, २५ पुस । तुलसीपुर–१२ रझेनीका श्याम चौधरी थारु समुदायले लगाउने कसौडी, भोटी, अगियामा सजिएर नाचमा सहभागी बन्ने तयारी गर्दै हुनुहन्छ  । नजिकिँदो माघीका लागि पच्चीस वर्षीय चौधरीसहितका  गाउँका युवा  लुंगे नाच प्रदर्शन गर्न  जुटेका  हुन् । 

 “हामी युवाले नै अब थारु समुदायको संस्कार, संस्कृति संरक्षण गर्नुपर्छ”, स्थानीयवासी चौधरीले भन्नुभयो, “यस वर्षदेखि हामी आफैँ सक्रिय भएका छौँ ।” योभन्दा पहिले सोही क्षेत्रमा युवाले थारु नाच पनि नाच्दैनथे । परम्परागत रुपमा गरिने हरेक संस्कार, संस्कृति बिर्सिदै गएको अवस्था भएपछि यसलाई जोगाउन आफूहरु सक्रिय भएको उहाँको भनाइ थियो । 

त्यस्तै सोही ठाउँकी अस्मिता चौधरी पनि थारुको पोसाकमा सजिनुभएको थियो । युवतीहरुले पनि आफ्नै समूह बनाएर नाच गर्न थालेका छन् । “पहिले बूढापाकाले मात्रै नाच्नु हुन्थ्यो”, उहाँले भन्नुभयो, “अब हामी पनि यो नाचमा सक्रिय हुन थालेका छौँ ।” 

यस वर्षदेखि आफूहरु नाच संरक्षणमा लागेको उहाँको भनाइ थियो । थारु समुदाय संस्कार र संस्कृतिमा धनी भए पनि त्यसलाई जोगाउन नसक्दा लोप हुँदै जान थालेको भन्दै यसलाई संरक्षण गर्न आवश्यक रहेको बताउनुभयो ।  उहाँहरु उदाहरण मात्रै हो । पछिल्लो समय युवाहरु थारु संस्कार, संस्कृति संरक्षणमा सक्रिय देखिएका छन् । जिल्लाका सबै स्थानीय तहले माघीको अवसरमा विशेष कार्यक्रम गर्दै आएका छन् । दाङ थारु समुदायको बाहुल्यता भएको जिल्ला हो । सबैजसो पालिका तथा वडामा माघी विशेष कार्यक्रम भइरहेको तुलसीपुर–१२ का वडाध्यक्ष खुसीराम चौधरीले बताउनुभयो । “हामीले पनि माघी विशेष कार्यक्रम ग¥यौँ”, उहाँले भन्नुभयो, “सबैजसो पालिका र वडाले कार्यक्रम गर्नुहुन्छ, यसले पनि युवा थारु संस्कार, संस्कृति संरक्षणमा लाग्ने गर्नुभएको छ ।”  तुलसीपुरमा मात्रै एक सय २७  थारु समुदायका गाउँ छन् ।  

थारु समुदायले झुम्रा, सखिया, लठ्ठहवा, मुङ्गहवा, हुर्दवा, मघौटा, बर्कालगायतका नाच नाच्ने गर्छन् । माघी नजिकिँदै गर्दै गाउँगाउँमा माघी विशेष कार्यक्रम भइरहेका छन् । माघीको रौनक बढिरहेको छ । आफ्नो वेशभूषामा थारु समुदाय सचिरहेका हुन्छन् । थारु समुदायका परिकार पनि पाकिरहेका छन् ।  
 

9 Jan 2023 , 9:00am
हाम्रो आवाज