नेपाली समय:

वि.सं २०८० चैत्र १५   बिहीवार

NepaliNP
मधेसका मुख्यमन्त्री यादवले शपथ लिँदै

धनुषा, २९ पुस । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आज पद तथा गोपनीयताको शपथ लिँदै हुनुहुन्छ । बुधबार मुख्यमन्त्रीमा नियुक्त हुनुभएका उहाँले आज मधेस भवनस्थित प्रदेश प्रमुखको कार्यालयमा दिउँसो १२ बजे शपथ लिने कार्यक्रम तय भएको छ । 

जनता समाजवादी पार्टी नेपालका संसदीय दलका नेता यादव प्रदेशसभाका १० दलमध्ये सात दल र दुई स्वतन्त्र गरी ६३ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त हुनुभएको हो । मधेस प्रदेशमा १० मन्त्रालय छन् । प्रदेशमा जसपा र जनमतले आलोपालो नेतृत्व गर्ने सहमति गरेका छन् । मन्त्रालय भागवण्डाका लागि बैठक बस्न लागेको जनमत पार्टी प्रदेश संसदीय दलका नेता महेशप्रसाद यादवले जानकारी दिनुभयो । 

मधेस प्रदेशसभामा लोसपाका नौ सांसद छन् । लोसपाले समर्थन गरे मुख्यमन्त्री यादवले ७२ सांसदको साथ पाउनेछन् । अहिले मुख्यमन्त्रीलाई एमालेका २३, जसपाका १६, जनमतका १३, माओवादीका सात, नेपाल सङ्घीय समाजवादीका एक, राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का एक, स्वतन्त्र सांसदद्वय अनुरुद्ध सिंह र सुरिता साहले समर्थन गर्नुभएको छ । यहाँ माओवादीका नौ सांसद भए पनि दुई जनाको शपथ रोकिएको छ । लोसपाबाहेक नेपाली कांग्रेस र एक सांसद रहेको नागरिक उन्मुक्ति पार्टीले सरकारलाई समर्थन गरेका छैन ।

13 Jan 2023 , 10:47am
हाम्रो आवाज