नेपाली समय:

वि.सं २०८० चैत्र १५   बिहीवार

NepaliNP
मधेस प्रदेशः आज सभामुख निर्वाचन

जनकपुरधाम, ३ माघ । मधेस प्रदेशसभाको आज बस्ने बैठकमा सभामुखको निर्वाचन र मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने कार्यसूची रहेको छ ।
  
नवनिर्वाचित प्रदेशसभाको आज १ बजे बस्ने दोस्रो बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मत लिने र सभामुखका लागि उम्मेदवारी दिएका प्रस्तावित नामहरू निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । 

गत बुधबार मुख्यमन्त्री नियुक्त हुनुभएका यादवले शुक्रबार (पुस २९ गते) पद तथा गोपनीयताको शपथ लिनुभएको थियो भने सभामुखमा सत्ता गठबन्धनका तर्फबाट नेकपा (एमाले)का रामचन्द्र मण्डल र नेपाली कांग्रेसका तर्फबाट जङ्गीलाल राय प्रतिस्पर्धामा हुनुहुन्छ ।

एक सय सात सदस्यीय मधेस प्रदेशसभामा सरकार गठनका लागि ५४ मत आवश्यक पर्छ । प्रदेशसभामा रहेका १० राजनीतिक दलमध्ये नेकपा (एमाले), जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी, नेकपा (माओवादी केन्द्र), राप्रपा र नेपाल सङ्घीय समाजवादी पार्टी (एक–एक) सहित दुई स्वतन्त्र गरी ६३ जनाको समर्थन छ । यादवलाई नौ जना प्रदेशसभा सदस्य रहेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले पनि समर्थन गर्ने तयारी गरेकाले त्यो सङ्ख्या बढेर ७२ पुग्ने जसपाको दाबी छ ।

17 Jan 2023 , 11:57am
हाम्रो आवाज