नेपाली समय:

वि.सं २०८० चैत्र १६   शुक्रवार

NepaliNP
भूकम्पले अन्ठाउन्न घरमा क्षति

बाजुरा, ११ माघ । जिल्लाको हिमाली गाउँपालिकाको विच्छ्या केन्द्र विन्दु बनाएर मङ्गलबार आएको पाँच दशमलव नौ रेक्टर स्केलको भूकम्पले ५८ घरमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार सरकारी र निजीमा आंशिक र पूर्ण क्षति भएको छ । 

मङ्गलबार अपराह्न २ः४३ बजे आएको भूकम्पका कारण जिल्लाका विभिन्न ठाउँमा जनधनको क्षति भएको छ । भूकम्पका कारण जिल्ला सरकारी कार्यालयका भवन चर्किएका छन् । स्थानीयका कतै घर चर्केका छन्, कतै पर्खाल भत्किएका छन् । ढुङ्गा र माटोबाट बनेका घर चर्केर भित्र बस्न नमिल्ने भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्य थापाले जानकारी दिनुभयो । 

उहाँले भूकम्प आएपछि मातहतका इलाका प्रहरी र प्रहरी चौकीमा कार्यरत सुरक्षाकर्मीलाई गाउँ–गाउँमा क्षतिको विवरण सङ्कलन गर्न पठाउँदा अहिलेसम्म सरकारी र स्थानीयका गरी ५८ घरमा क्षति पुगेको तथ्याङ्क सङ्कलन भएको बताउनुभयो । 

एकको मृत्यु 

भूकम्पका कारण वनमा घाँस काट्न गएकी एक महिलाको घटनास्थलमै मृत्यु भएको छ । भूकम्पका कारण गौमूल गाउँपालिका–२ जुरेलीकी ३२ वर्षीया जमुना रोकायाको भूकम्पले हल्लाएर भिरबाट ढुङ्गा खसेर टाउकामा लागेपछि घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

तीनजना घाइते 

भूकम्पका कारण जिल्लामा तीनजना घाइते भएका छन् । घाइते भएका तीनैजनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइते हुनेमा गौमूल–१ अम्लिका अन्दाजी ४५ वर्षीय राजदल बोहरा, बडिमालिका नगरपालिका–२ की चन्द्रा महत र हुम्ला जिल्ला घर भई हिमाली–६ दिदीको घरमा आएकी १६ वर्षीया सरिता नेपाली रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक थापाले बताउनुभयो । बोहराको अम्लिस स्वास्थ्य संस्थामा र नेपालीको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । महतलाई उपचारपछि घर पठाइएको प्रहरीले जनाएको छ । 

पचास भेडा मरे 

वनमा चराउन लगिएका ५० भेडा चट्टान फुटेपछि च्यापिएर मरेका छन् । गौमूल–१ अम्लिसका राजदल बोहराका ५० भेडा भिरको चट्टान भूकम्पले फुटेर चरिरहेका भेडा च्यापिएर मरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  

25 Jan 2023 , 4:12pm
हाम्रो आवाज