नेपाली समय:

वि.सं २०८१ बैशाख १३   बिहीवार

NepaliNP
चितुवालाई बोकेको भाइरल तस्बिरको वास्तविकता यस्तो छ

१९ फागुन, पोखरा । चितुवा बोकेर हिँडेको एउटा तस्बिर सामाजिक सञ्जालमा भाइरल भनिरहेको छ । उक्त तस्बिर पर्वतमा लिइएको बताइन्छ ।

मानिसले बोक्दा पनि केही नगर्ने चितुवा भनेर धेरैले उक्त तस्बिरलाई अनौठो मानेका छन् । तर वास्तविकता भने बेग्लै पाइएको छ ।

चितुवा बोकिरहेका व्यक्ति सर्वसाधारण नभएर वनका कर्मचारी हुन् । फलेबास नगरपालिका वडा नम्बर २ गहतेमा उक्त चितुवा भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्वतका इन्स्पेक्टर तथा प्रवक्ता राजेन्द्र अधिकारीका अनुसार उक्त चितुवा मरेको अवस्थामा फेला परेको थियो । मरेको चितुवालाई वनका कर्मचारीले बोकेको अवस्थामा लिइएको फोटो भाइरल बनेको हो ।

‘फोटोमा देखिएको चितुवा मरेको हो । मरेको चितुवालाई वनका मान्छेले लिएको फोटो हो,’ इन्स्पेक्टर अधिकारीले भने, ‘त्यो चितुवा बिरामी रहेछ, बिरामी चितुवाको आक्रमणबाट एक महिला पनि घाइते हुनुभएको रहेछ, पछि त्यो चितुवा मरेको भेटियो । जिउँदो चितुवा भनेर प्रचार भए पनि त्यो मरेको चितुवा हो ।’

पर्वत डिभिजन वन कार्यालय प्रमुख विष्णु अधिकारीका अनुसार ११ बजे वन कार्यालयलाई खबर आएको हो । उनले भने, ‘कार्यालयमा खबर आएसँगै ४ जना साथीहरु घटनास्थलमा पुग्नुभएको थियो । जंगलको बिचमा चितुवा मरेको भेटियो । हामीले मुचुल्का गरेर आजै गाड्ने काम भएको छ ।’

वन कार्यालयका अनुसार चितुवा बुढो र बिरामी थियो । बिरामी भएकै कारण उक्त चितुवा मरेको हुन सक्ने वनका अधिकारीहरुको भनाइ छ । 

3 Mar 2023 , 7:19pm
हाम्रो आवाज