नेपाली समय:

वि.सं २०८१ बैशाख २०   बिहीवार

NepaliNP
प्रतिनिधि सभाको बैठक सूचना टाँसेर स्थगित

प्रतिनिधि सभाको बैठक सूचना टाँसेर स्थगित

साउन २२,काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज दिउसो १ बजे बोलाइएको थियो। संसद्को अवरोध हटाउने विषयमा प्रमुख दलका शीर्षनेताबीच बिहान छलफल भएको थियो। त्यसमा सहमति नजुटेपछि प्रतिनिधि सभाको बैठक अपराह्न ४ बजेका लागि सारिएको थियो।

तीन दलका शीर्षनेता दोस्रो पटक छलफलमा जुटेपछि सहमति हुन सकेन। जसले गर्दा प्रतिनिधि सभाको बैठक सूचना टाँसेर स्थगित गरिएको छ। संघीय संसद् सचिवालयले जारी गरेको सूचनामा अर्को बैठक साउन २३ गते दिउसो ३ बजे बस्ने जनाइएको छ।

करीब सय किलो सुन तस्करी प्रकरणलाई लिएर सत्तापक्ष र प्रतिपक्ष दलबीच सहमति जुट्न सकेको छैन। प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले उच्चस्तरीय छानबिन समिति गठनको माग गरेको छ।

त्यसमा सत्तापक्ष सहमत हुन सकेको छैन। सुन तस्करी प्रकरणको जिम्मामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई दिइसकेकाले उच्चस्तरीय समितिको आवश्यकता नरहेको सत्तापक्षको मत छ।

यस विषयलाई लिएर केही दिनदेखि संसद् अवरुद्ध हुँदै आएको छ। राष्ट्रिय सभाको आजको बैठक पनि एमालेका सांसदको अवरोधका कारण स्थगित भएको थियो।

साउन ३ गते हङकङबाट आएको करीब सय किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जाँच पास भएपछि राजस्व अनुसन्धान विभागले नियन्त्रणमा लिएको थियो। यसमा अहिलेसम्म १८ जना पक्राउ परिसकेका छन्। अहिले विभागले यसको अनुसन्धानको जिम्मा सीआईबीलाई दिएको छ।
 

7 Aug 2023 , 6:03pm
हाम्रो आवाज