नेपाली समय:

वि.सं २०८१ आश्विन ३०   बुधवार

NepaliNP
१०औं राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित समयमै हुन्छ : खेलकुदमन्त्री चौधरी

भदौ-३०

काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले कर्णालीमा हुने १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित समयमै हुने बताएका छन् । शनिबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

१०औं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर २ देखि ९ सम्म कर्णालीको सुर्खेतमा आयोजना गरिएको छ । १०औं राष्ट्रिय खेलकुदका लागि सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–८ मा बन्दै गरेको रङ्गशाला निर्माणको काम अन्तिम चरणमा पुगेको पनि मन्त्री चौधरीले बताए ।

मन्त्री चौधरीले भने, 'पहिलोपल्ट कर्णाली प्रदेशको आफ्नै लगानीमा सुर्खेतमा रङ्गशाल निर्माण हुँदैछ । कर्णाली प्रदेशका मुख्यमन्त्री,खेलकुद मन्त्री सबैको जोश–जाँगर छ । संघीय सरकारले ६० करोड रूपैयाँ बजेट छुट्याएको छ । १०औं राष्ट्रिय खेलकुदको गतिविधि अब व्यापक रूपमा सुरुवात हुन्छ'

रङ्गशालाको भौतिक पूर्वाधार विकासका विषयमा केही दिनअघि आफैंले सम्पर्क गरेर बुझेको बताउँदै उनले दशैं अगाडि भौतिक पूर्वाधार व्यवस्थापनको सबै काम सकिने बताए । खेललाई कसरी राम्रो र व्यवस्थित बनाउने सन्दर्भमा आफूहरु लागिरहेको उनको भनाइ छ ।

१०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको समापनमै ११औं राष्ट्रिय खेलकुलको घोषणा हुने उनले बताए । मन्त्री चौधरीका अनुसार ११औं राष्ट्रिय खेलकुद मधेश प्रदेशमा हुनेछ ।

15 Sep 2024 , 6:59pm
हाम्रो आवाज