मङ्सिर १८
काठमाडौं - बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा संसद् विघटनसम्बन्धी नेकपा एमालेले दायर गरेको रिटमाथि सुनुवाई हुँदै थियो । बेन्चमा थिए प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीशहरू कुमार रेग्मी, हरिप्रसाद फुयाँल र डा मनोजकुमार शर्मा थिए ।
सो मुद्दामा पक्षबाट बहस गर्न सुरुमा अधिवक्ता सुलभ खरेल उपस्थित भए । जब खरेल गेहेन्द्रको पक्षबाट बहसका लागि इजलासमा उभिए परिचय सकिनसाथ प्रधानन्यायाधीशको अनपेक्षित प्रश्नले उनलाई रातोपिरो बनायो । परिचय सकिनासाथ प्रधानन्यायाधीश राउतले भने : 'विद्वान् मित्र तपाईं इजलासमा बहसका लागि आउनुभयो । तपाईंलाई याद छ कि छैन भदौ २४ मा अदालत जल्दा सामाजिक सञ्जालमा के लेख्नुभएको थियो ?
अदालत र बार जल्दा खुसी हुनुपर्ने कारण के थियो ? अदालत त चाहिँदो रहेछ होइन ?’सुरुमा त खरेलले आफ्नो प्रतिरक्षा गरे । उनले राजनीति प्रेरित न्यायापालिकाको मात्रै विरोध गरेको र राजनीतिक व्यक्ति न्यायाधीश बनेको आरोप पनि लगाए । त्यो जवाफबाट प्रधानन्यायाधीश राउत झनै चिढिए । उनले यत्तिको घटना हुँदा पनि कुनै पश्चाताप छैन भन्दै प्रश्न गरेपछि अन्य न्यायाधीशहरूले समेत खरेलमाथि प्रश्न तेर्साएपछि खरेल इजलासमै ढले र बेहोस हुन पुगे ।
सम्मानित बेन्चबाट आएको प्रश्नलाई सामना गर्न नसकी ढल्न पुगेका खरेललाई त्यहाँ रहेका कानुन व्यवसायीहरूले उनलाई उठाएर पानी खुवाएपछि उनको होस आएको थियो ।
भदौ २४ मा खरेलले सामाजिक सञ्जालमा गरेको पोस्ट,
सर्वोच्च अदालत जल्दै गर्दा तपाईंको मन रोएको होला, तर मेरो मन एक रत्ती पनि रोएको छैन । नेपाल बार भवन जल्दै गर्दा पनि तपाईंको आँखा रसाएको होला, तर मेरो आँखा एक रत्ती रसाएको छैन । किनकि, त्यही अदालत र त्यही बारमा म शेरबहादुर र केपी ओलीका अनुहारहरू पटक–पटक देख्ने गर्छु । यिनीहरु मेरो आँखामा संवैधानिक चोरहरु हुन् । साँच्चिकै संवैधानिक फटाहाहरु हुन् ।
अदालतलाई कब्जा गर्ने, बारलाई विकृत गर्ने, अनि जनताको अधिकार चुरोटजस्तै चुस्ने, राजनीतिक स्वार्थमा फैसला भनेर आफ्ना देउताको स्वार्थ अनुकूल निबन्ध लेख्ने यी नेतृत्वहरू नै आजको संकटका मुख्य जिम्मेवार हुन् । अब सर्वोच्च अदालत र उच्च अदालतका न्यायाधीशहरुको तथा नेपाल बार र मातहत बारहरुको सामूहिक राजीनामा माग्दछ र परीक्षाबाट मात्रै न्यायाधीश नियुक्तिको जोडदार माग राख्दछ ।
अब न्यायालयको भविष्य अवश्य सुलभ खरेलले लेख्नेछ । नेपालको न्यायालयको जय होस् । विकृति न्यायालय एक रत्ती चाहिँदैन ।

