चैत-१
वीरेन्द्रनगर-सुर्खेत वीरेन्द्रनगर ४ स्थित जनजागरण सामुदायिक वनमा बलात्कृत भई ज्यान गुमाएकी १६ वर्षीय इनिशा बिकको परिवार अहिले न्यायको प्रतिक्षमा छिन । प्रहरीको अनुसन्धान प्रयोगशालाको रिपोर्ट र आरोपितहरूको ‘पोलिग्राफ’ प्रक्रिया अझै नटुङ्गिएकोले घटनाको वास्तविक तथ्य बाहिर आउन सकेको छैन ।
पोस्टमार्टम रिपोर्टले शारीरिक सम्बन्धपछिको अत्यधिक रक्तस्रावलाई मृत्युको मुख्य कारण देखाए पनि परिवारले यसलाई नियोजित सामूहिक बलात्कार र हत्या दाबी गर्दै आएको छ ।
घटनाको गाम्भीर्यलाई हेर्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) समेत सुर्खेत पुगेर जिल्ला प्रहरीसँग एकैसाथ सूक्ष्म छानबिनमा जुटेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धान र घटनास्थलबाटै पक्राउ परेका १६ वर्षीय बालकको बयानले घटनालाई थप रहस्यमय बनाएको छ ।
ती बालकले इनिशासँगको शारीरिक सम्बन्धका क्रममा उनी अचेत भएपछि आत्तिएर अन्य तीन साथीलाई बोलाएको दाबी गरेका छन् ।पीडित परिवारले भने चारै जना मिलेर सामूहिक बलात्कार गरेपछि हत्या गरेको भन्दै कर्तव्य ज्यान र जबर्जस्ती करणीको किटानी जाहेरी दर्ता गराएका छन् ।
घटनाको सीसीटीभी फुटेजमा इनिशा र मुख्य आरोपित बालकसँगै जंगलतर्फ गएको देखिए पनि अन्य तीन जनाको संलग्नताको विषय अझै पुष्टि हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
घटना भएको साता दिन बितिसक्दा पनि हालसम्म अनुसन्धान प्रक्रिया कुनै ठोस निष्कर्षमा पुग्न नसकेको भन्दै पीडित पक्षले आक्रोश व्यक्त गरेका छन्।

