असार -३२
चितवन - चितवन राष्ट्रिय निकुञ्जले जङ्गली हात्ती ‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरी छाडिएको छ । निकुञ्ज र मध्यवर्ती क्षेत्रमा २५ जनाको ज्यान लिइसकेको हात्तीलाई डार्ट (बेहोस बनाउने औषधि) प्रयोग गरेर रेडियो कलर जडान गरिएको हो ।
निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार हात्तीलाई डार्ट गरी घाँटीमा स्याटेलाइट रेडियो कलर जडान गरिएको छ । त्यसपछि दाह्रा काटेर छाडिएको हो ।
रेडियो कलर जडानपछि हात्तीको अवस्थाबारे छोटो समयमै जानकारी प्राप्त हुने र जिपिएस ट्र्याकिङमार्फत गतिविधि निगरानी गर्न सकिने उनले बताएका छ्न।
निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको नयाँ गोरख गण, निकुञ्जका प्राविधिक कर्मचारी र राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिकसहितको टोलीले हात्तीलाई रेडियो कलर जडान गरेको हो ।

