साउन- १
काठमाडौँ -नयाँ आर्थिक वर्ष को सुरुवातसँगै सरकारले आजदेखि शिक्षा स्वास्थ्य र बिजुलीमा लगाएको करले आमसर्वसाधारण उपभोक्ताको जनजीवन थप कष्टकर बन्दै छ । प्रधानमन्त्री वालेन्द्र रास्वपा नेतृत्वको सरकारले शिक्षा र स्वास्थ्यमा समान ३/३ प्रतिशत र घरायसी प्रयोजनको विद्युत् महसुलमा अतिरिक्त ५ प्रतिशत भ्याट लगाइदिएको छ, जुन कर आजदेखि कार्यान्वयनमा आउने भएको छ ।
सरकारको यो कर नीतिले आमनागरिकको दैनिकी घर खर्च आजबाट थप महँगिन पुगेको छ । यता उपभोग्य वस्तु खाद्यान्न, लत्ताकपडा लगायत क्षेत्रमा महँगी बढ्दै छ भने सरकार त्यसमाथि थपिदिएको करको भारले सर्वसाधारण नागरिकको दैनिकी जीवन कष्टकर बनेको छ।
नेपालको संविधानको भाग ३, धारा ३१ र ३५ अनुसार शिक्षा र स्वास्थ्य नागरिकहरूको मौलिक हक को रूपमा सुनिश्चित गरिए तापनि सरकारले संविधान विपरीत करको भार थपिदिएको विज्ञहरूले बताएका छन्। संविधानमा आधारभूत शिक्षा र स्वास्थ्य निःशुल्क हुनेसमेत उल्लेख गरिएको अवस्थामा शिक्षा र स्वास्थ्यमाथि यसरी कर लगाउनु असंवैधानिक रहेको विश्लेषकहरूले बताएका छन्।

