साउन -१२
विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले अर्को सूचना जारी नभएसम्म जिल्लाभर ‘डिजे’ (DJ) प्रयोगमा निषेध गरेको छ । प्रशासनले सोमबार एक सूचना जारी गर्दै अर्को आदेश नभएसम्मका लागि डीजे बजाउन निषेध गरिएको जानकारी गराएको हो ।
जारी गरिएको सूचनामा मोरङ जिल्ला भित्र आयोजना हुने मेला, महोत्सव, विवाहका विभिन्न समारोह, पार्टी उत्सव, चाडपर्व, धार्मिक कार्यक्रम तथा पुराणलगायतका कुनै पनि कार्यक्रममा डीजेको प्रयोग गर्न पाइने छैन भन्ने उल्लेख गरिएको छ।
ध्वनि प्रदूषण बढ्ने र सामाजिक सद्भाव तथा शान्ति सुरक्षामा समेत असर पुग्न सक्ने कुरालाई ध्यानमा राख्दै यस्तो कडाइ गरिएको प्रशासन स्रोतले बतायो ।
सहायक प्रमुख जिल्ला अधिकारी पवनराज कोइरालाद्वारा जारी सूचनामा भनिएको छ, ‘यो सूचना विपरीत कसैले डिजेको प्रयोग गरे वा गराएको पाइएमा कानून बमोजिम कारबाही गरिने बताइएको छ ।

