नेपाली समय:

वि.सं २०८१ बैशाख ७   शुक्रवार

NepaliNP
पर्यटन प्रवर्द्धनार्थ ‘उज्यालो बन्दीपुर’ कार्यक्रम

पर्यटन प्रवर्द्धनार्थ ‘उज्यालो बन्दीपुर’ कार्यक्रम

तनहुँ, ३० फागुन (रासस) । तनहुँको बन्दीपुरमा पर्यटन प्रवर्द्धन गर्नका लागि ‘उज्यालो बन्दीपुर’ कार्यक्रम सुरु गरिएको छ । उक्त कार्यक्रमअन्तर्गत बन्दीपुरका सबै सडकमा बत्ती जडान गरी उज्यालो बनाउन लागिएको छ । 

ठाउँ ठाउँमा पोल गाडेर बत्ती जडान गर्नुका साथै आकर्षक ढुङ्गा बिछ्याउन थालिएको छ । बिजुलीको तार जमिनमुनि गाड्ने व्यवस्था गरी ढुङ्गा छापेर आकर्षक बनाउन लागिएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिनुभयो । बन्दीपुरको बजार क्षेत्रमा रोटरी क्लबले यसअघि सडकमा सत्र बत्ती जडान गरेको थियो । 

उहाँले भन्नुभयो, “यस वर्ष पर्यटन शाखामार्फत रु २० लाख विनियोजन गरी अन्य स्थानमा बत्ती जडान गर्न लागेका छौँ ।”

त्यसैगरी बन्दीपुरमा रहेका पर्यटकीय क्षेत्रको जानकारी दिने उद्देश्यले  क्यूआरकोडको व्यवस्था गरिएको छ । मुख्य बजारमा क्यूआरकोड राखिसकिएको छ भने अन्य १५ स्थानमा राख्ने तयारी भइरहेको छ ।

त्यसैगरी पर्यटकीय क्षेत्र बन्दीपुर–३ रामकोटमा यसै वर्ष ढुङ्गा बिछ्याउन थालिएको छ । उक्त कार्यका लागि रु आठ लाख विनियोजन गरिएको छ । त्यसैगरी आगामी वर्ष बन्दीपुर–५ र ६ का पर्यटकीय क्षेत्र धरमपानी, कल्लेरी, माझथर, कोरिसालगायत स्थानमा ढुङ्गा बिछ्याउने योजना रहेको गाउँपालिकाले जनाएको छ । 

14 Mar 2023 , 8:02am
हाम्रो आवाज