नेपाली समय:

वि.सं २०८१ बैशाख ७   शुक्रवार

EnglishEN
बालविवाह पूर्णरुपले नियन्त्रण भएन    

बालविवाह पूर्णरुपले नियन्त्रण भएन    

नेपालगञ्ज, ६ माघ : अहिले आएर सबैकोे जनजिब्रोमा ‘बिहेवारी बीस वर्षपारि’ भनाइ झुण्डिएको भएपनि व्यावहारिक जिवनमा उतार्न सकिएको छैन । 

जिल्लाका केही सचेत युवायुवती र किशोरी बाल क्लबमार्फत जनेतनामूलक कार्यक्रममा लागि परेका छन् । विशेष गरी मुस्लिम तथा मधेशी समुदायमा बालविवाह रोक्न नसकिएको बाल अधिकारकर्मी साहिल अन्सार बताउनुहुन्छ ।     

बाँके जिल्लामा बालविवाह कतिले गरिरहेका छन् भन्ने यकिन तथ्याङ्क छैन । बालविवाह बढ्दै गएको बालविवाहको क्षेत्रमा काम गर्ने सङ्घसंस्थाको बुझाई छ । गत आर्थिक वर्षमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र नेपालगञ्जमा बालविवाहका छ वटा उजुरी परेको थियो । “उजुरीको सङ्ख्या कम देखिएको मात्र हो, मुस्लिम र मधेशी समुदायमा बालविवाह त निर्वाध हुने गरेको छ”, अधिकारकर्मी कमला पन्तले भन्नुभयो ।     
     
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर ओलीले दुई परिवारको सहमतिमा हुने बालविवाह कानूनले नियन्त्रण गर्न नसकिने भएकाले अभिभावकमा नै जागरण ल्याउनुपर्ने खाँचो रहेको औल्याउनुुभयो । 

नेपाल इक्रा एजुकेशनल फाउन्डेसनका अध्यक्ष शक्ति वंशकारले  बालविवाहबाट बालबलिकाको जिवनमा नकारात्मक असर पर्ने र विशेष गरेर बलिकाहरुको स्वस्थ्य, शिक्षामा धेरै प्रभाव गर्ने हुँदा यस बारे सचेतना अभियान तिव्रगतिमा सञ्चालन गर्नुका साथै अभिभावकहरुलाई पनि  बाल विवाहको बेफाइदाहरु बुझउन अत्यन्त जरुरी रहेको बताउनुभयो ।
     
बीस वर्षभन्दा कम उमेरमा विवाह गरेमा यसलाई नेपालको कानूनले बालविवाह भन्ने गरेको छ । बाँके जिल्लामा बालविवाह बढ्दै गएको छ । बालविवाह रोकथामका लागि सरकारी तथा गैर सरकारी सङ्घसंस्थाले काम गरिरहेका छन् । बालविवाह केही मात्रामा न्यूनीकरण भए तापनि पूर्णरुपमा रोकिन भने सकेको छैन ।     
     
नेपालको कानूनले बालविवाह गर्ने र गराउनेलाई तीन वर्ष  कैद र रु ३० हजारसम्म जरिवानाको व्यवस्था गरेको छ तर, बालविवाह रोकथामका लागि बनाइएका कानून प्रभावकारी रुपमा कार्यान्वयन हुन सकेको छैन । बालविवाहका घटना बढ्दै गएको अवस्था छ । बालविवाह रोकथामका लागि स्थानीय सरकार र सङ्घसंस्थाले सामूहिक पहल गर्नुपर्ने अधिवक्ता विश्वजित तिवारीको सुझाव छ ।     
     
बाँके जिल्ला मधेशी र मुस्लिम समुदायको बाहुल्यता भएको जिल्ला हो । विशेष गरेर सो समुदायमा २० वर्ष  नपुग्दै विवाह गर्ने प्रचलन छ तर, कानूनले २० वर्र्षपछि विवाह गर्न पाउने व्यवस्था गरेको छ । केही महिनाअघि बाँकेमा छोरीको विवाह १६ वर्ष  मा नै गर्न पाउँ भनेर मागसमेत उठेको थियो । सो मागलाई समाजका अगुवाले गैरकानूनी माग भनेर टिप्पणी गरेका छन् ।     

२० Jan २०२० , १०:०९pm
हाम्रो आवाज