नेपाली समय:

वि.सं २०८१ बैशाख ७   शुक्रवार

EnglishEN
२० दिनको अल्टिमेटम सरकारलाई, टीकापुर घटनाका आरोपिलाई नछोडे फागुन १ गतेदेखि थरुहट आन्दोलन सुरु

२० दिनको अल्टिमेटम सरकारलाई, टीकापुर घटनाका आरोपिलाई नछोडे फागुन १ गतेदेखि थरुहट आन्दोलन सुरु

काठमाडौं- टीकापुर घटना भएको चार वर्ष बितिसकेको छ । त्यही घटनामा मुछिएका माननिय रेशम चौधरी लगायत ११ जना अहिले जेबन्दी भएर सजाय
काटिराखेका छन् ।
चार वर्षसम्म चुप लागेर बसेको थरुहट आज आन्दोलनको घोषणा गरेको छ ।
आज बुधबार पत्रकार सम्मेलनमा थरुहट थारुवान राष्ट्रिय मोर्चाका संयोजक लक्ष्मण थारुले अबको २० दिनभित्र टीकापुर  घटनामा फसाइएका माननीय रेशम चौधरी लगायत ११ जना थारुहरुको मुद्दा फिर्ता नगरे फागुन १ गतेबाट थरुहट आन्दोलन सुरु हुने घोषणा गर्नु भयो ।

उनले सरकारलाई प्रश्‍न गर्दै आक्रोश पोखे, ‘टीकापुर घटनाको वास्तविक प्रतिवेदन सरकार किन लुकाएर बसेको छ ? के थारुहरु चोर, फटाहा र डाँका हो। ज्यानमारा हो हामी? थारुहरुमाथि टीकापुरमा के भएको थियो ? यो देशको जनतालाई जान्‍ने अधिकार छैन ? त्यो टीकापुर हत्याकाण्ड कस्ले रच्यो ? दुर्भाग्यपूर्ण घटनाबारे जान्‍न पाउने अधिकार हामीलाई छैन ?’

उनले त्यतिबेलाको पीडाको आक्रोश पोख्दै भने, ‘ हाम्रो घरमा आगो लाग्छ। हाम्रो खोका फुकिन्छ आगोले। हाम्रो पसल चोरिन्छ आगो लगाएर। त्यही बेला हाम्रो घरमा रेप हुन्छ। तर मुद्दा लाग्छ हामीलाई कर्तव्य ज्‍यान, ज्यान मार्ने डाँका।के प्रधानमन्त्री केपी ओलीको प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र यही हो ? संघीयता यही हो ? त्यति बेखबर सरकार, प्रहरी प्रशासन ? संघीयता, गणतन्त्र र समावेशीताको कुरा गर्‍यौ द्वन्द्व व्‍यवस्थापनका लागि। तर यहाँ द्वन्द्व व्‍यववस्थापन कसरी गर्ने, कुन हदसम्‍म गर्ने ?’

उनले चेतावनी दिँदै भने, ‘यदि सरकारले यी पाँचवटा कुराहरु सुनेन। केपी ओलीको क्‍याबिनेटले सुनोस् र वार्ताका साथ गम्भीर छलफल गरोस्। दुइ तिहाइको सरकारले निर्णय लियोस्। यो देशको शासकहरुले सुनुन। न्‍याय कहाँ छ ? अधिकार कहाँ छ ? र समानता कहाँ छ ? एउटा समुदायलाई त्रसित बनाएर आतंकित बनाएर, जेलमा कोचेर न्‍याय पच्दैन।अधिकार हराउँदैन। हामी संविधान जस्ताको तस्तै मान्‍न तयार छैनौ। संविधान संशोधन गरियोस्। हामीलाई बाध्‍य नपारियोस् बन्द हडताल गर्न।अब पनि सुनेन भने हामी आन्दोलनमा गयौ-गयौ।अब कसैले पन आन्दोलनलाई रोक्न र दबाउन सक्दैन।’

यस्तै पत्रकार सम्‍मेलनमा कार्यक्रममा आदिवासी जनजातिका महासंघका उपाध्यक्ष गोपाल छन्त्याललले आदिवासी जनजातिको आवाज सरकार र सत्ता पक्षले बलजफ्ती थुन्न खोजेको भन्‍दै अब यस्तो अन्याय नसहने बताए।

उनले विगतका राजनीतिक घटनाक्रमहरुलाई औल्याउँदै भने,’कांग्रेसले २००७ सालमा क्रान्ति गर्दा हतियार उठाउदाँ राजनीतिक हुन, माओवादीले १० वर्षे जनयुद्धमा १७ हजार मानिस मार्ने राजनीतिक कारण हुने र वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले झापामा मानिसको टाउँको काट्‍दा राजनीतिक कारण भइ देश हाक्न मिल्छ भने थरुहट र आदिवासी थारु नेताहरुल आफ्नो पहिचान र अधिकारको माग गर्दा कसरी अपराधिकरण भयो?’

उनले देशका शासकहरु आदिवासी जनजातिहरुलाई नम्बरले उनीहरुको ऐतिहासिक र धार्मिक अनि चाडपर्वहरुमाथि कटौती गर्दै विभाजन गर्न खोजिएको आरोप लगाए। उनले भने, ‘यसको आक्रमणको सुरुवात सोझा थारुहरुमाथि टीकापर घटनाबाट भएको छ।राज्‍यमा थारुहरुको भूमिकालाई विभाजन गरिएको छ, दबाइएको छ, जुन गलत अभ्यास भएको छ। थारुको राजनीतिक अधिकारलाई टुक्रा टुक्रा बनाएर उसको सबै अधिकामाथि धाबा बोलेको छ। निर्वाचित सांसदलाई थुन्‍ने अनि जघन्‍य अपराधीलाई सभामुख चुन्‍ने ? मन्त्री, पार्टी अध्‍यक्ष र प्रधानमन्त्री चुन्‍ने ? यसपछाडिको नियत के हो ? कुन जातिले कुन जातिमाथि दमन गरेको आभास हुन्छ ? मधेसीमामू झुक्‍ने अनि आदिवासीलाई हेप्ने ?’

यस्तै खम्बुवान राष्ट्रिय मोर्चाका अध्‍यक्ष आरके खम्बुले देशमा चार वर्ण र छतिस जातको फूलबारी अझै भइनसकेको र नहुन्जेलसम्‍म आन्दोलन भइरहने बताए। उनले यसको समस्या सरकारले नसुने ढिलो छिटो देशमा गर्हयुद्ध हुने चेतावनी दिए।

उनले भने, ‘निर्वाचित सांसदलाई थुनेको छ। उसको राजनैतिक अधिकारमाथि धावा बोलेको छ। यो के हो ? आवाजलाई दबाएर समस्याको समाधान हुन्छ की अझ गृह युद्धतिर धकेलिन्छ ? थारु नेतालाई थुनेर देशमा राष्ट्रसभाको चुनाव गर्नु गलत हुनेछ। हामी बहिस्कार गर्छौ। ढिलो छिटो देशमा गर्हयुद्ध हुन्छ।’

यस्तै कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्‍च, खुम्बुवान राष्ट्रिय मोर्चा, नेपाल राष्ट्रिय पार्टी, नेपाल राष्ट्रिय परिषद्, खसान राष्ट्रिय संघर्ष समिति, गमरात, ताम्सालिङ, तमुवान, लिम्बुवान, किराँत, नेवा:, शेर्पा आदि पक्षधर जातीय संघ संस्थाहले ऐक्वबद्धता जनाएको मोर्चाका प्रवक्ता मीनराज चौधरीले पत्रकार सम्‍मेलनमा जानकारी गराएका थिए।

 

 

 

 

२२ Jan २०२० , ११:०५pm
हाम्रो आवाज