नेपाली समय:

वि.सं २०८० चैत्र १६   शुक्रवार

EnglishEN
अबको युग प्राविधिक शिक्षाको युग : पूर्वराष्ट्रपति यादव   

अबको युग प्राविधिक शिक्षाको युग : पूर्वराष्ट्रपति यादव   

मध्यपुरथिमि, ११ माघ : पूर्वराष्ट्रपति डा रामवरण यादवले अबको युग प्राविधिक शिक्षाको युग भएको बताउनुभएको छ । भक्तपुरको चाँगुनारायण नगरपालिका–१ स्थित चाँगुनारायण माध्यमिक विद्यालयमा आजबाट शुरु भएको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको उद्घाटन गर्दै उहाँले प्राविधिक शिक्षा र सीपले मात्रै रोजगारी वृद्धि गर्ने बताउनुभयो ।    
    
 सामुदायिक विद्यालय तथा कलेजको शिक्षा गुणस्तरीय बनाउनुपर्नेमा जोड दिँदै उहाँले शिक्षा गुणस्तरीय बनाउन सबै जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिनुभयो । कूल ८० प्रतिशतभन्दा बढी विद्यार्थी सामुदायिक विद्यालय तथा कलेजमा पढ्ने भए पनि ८५ प्रतिशत सामुदायिक विद्यालय तथा कलेजको शिक्षाको गुणस्तर राम्रो नभएको उहाँको भनाइ थियो ।    
    
पूर्वराष्ट्रपति डा यादवले किसान तथा मजदुरका छोराछोरी पढ्ने सामुदायिक विद्यालयको शिक्षाको सुधारबिना देश विकास हँुदैन भन्दै नेपालको विश्वविद्यालयको शिक्षाको गुणस्तरसमेत निकै खस्किएको भनाइ राख्नुभयो ।    
    
 कार्यक्रममा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले चाँगुनारायण नगरपालिकाको नमूनाको रुपमा अगाडि बढेको चाँगुनारायण माध्यामिक विद्यालयलाई प्राविधिक विषयको नमूनाको विद्यालय बनाउन आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताउनुभयो । उहाँले सङ्घ, प्रदेश र स्थानीय तहको आवश्यक समन्वय गरी विद्यालयको विकासका लागि आर्थिक सहयोग र अन्य सहयोगका लागि पहल गर्ने उहाँले बताउनुभयो ।    
    
वाग्मती प्रदेशका सदस्य कृष्णलाल भँडेलले संसद् विकास कोषबाट चाँगुनारायण माविलाई रु १० लाख आर्थिक सहयोग दिने प्रतिबद्धता जनाउनुभयो । विद्यालयका प्रधानाध्यापक दधिराम गेलालले विद्यार्थीलाई समयसापेक्ष प्राविधिक शिक्षासमेत दिने उद्देश्यले रु एक करोड सङ्कलन गर्ने लक्ष्यसहित महायज्ञ शुरु गरेको बताउनुभयो । कार्यक्रममा चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्र, जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल, नेपाली काँग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले विकास, शिक्षा र स्वास्थ्यमा राजनीतिभन्दा माथि उठेर काम गर्नुपर्ने बताउनुभयो ।   

२५ Jan २०२० , ९:३७pm
हाम्रो आवाज