नेपाली समय:

वि.सं २०८० चैत्र १५   बिहीवार

EnglishEN
  पुल बनेपछि बाटो छोट्टियो   

  पुल बनेपछि बाटो छोट्टियो   

खोटाङ, १३ माघ : सुनकोशीस्थित कुनाइघाटमा झोलुङ्गे पुल सञ्चालनमा आएको छ । खोटाङ र उदयपुरको सिमानामा एक करोड नौ लाख लागतमा १५८ मिटर लम्बाइ भएको पुल निर्माण गरिएको हो । वर्षौंदेखि डुङ्गाको भरमा आवतजावत गर्नुपर्ने अवस्था अन्त्य भएको छ ।    

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम र उदयपुरको लिम्चुङबुङ गाउँपालिका–१ भाते जोड्ने सो स्थानको पुल निर्माणको जिम्मा जगदम्बा निर्माण सेवा हलेसीले लिएको थियो । पुल सञ्चालनमा आपछि दुई जिल्लाबीच आवतजावतका साथै दैनिक उपभोग्यवस्तु ढुवानीमा समेत सहज भएको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका वडासदस्य फलामसिं राईले जानकारी दिनुभयो ।    
    
छिमेकी जिल्ला जान तथा आउन आठ घण्टा लाग्ने समय अहिले घटेर दुई घण्टामा झरेको स्थानीयवासी फडेन्द्रकुमार राईले बताउनुभयो । “पश्चिमी क्षेत्रको दुर्गम तथा सुक्खाग्रस्त क्षेत्र मानिने दुर्छिमको कुनाइघाटमा वर्षात्को समयमा डुङ्गा चल्दैनथ्यो”, उहाँले भन्नुभयो, “राईघाट वा बतासेघाट घुमेर भाते जानुपर्दा आठ घण्टा समय लाग्थ्यो । अहिले झोलुङ्गे पुल सञ्चालन भएपछि उक्त समय घटेर दुई घण्टामा झरेको छ ।” जिल्लाको सुक्खाग्रस्त क्षेत्रमा पर्ने हलेसी आसपासका गाउँमा उपभोग हुने अधिकांश कृषिउपज सुनकोशीपारिको लिम्चुङबुङ गाउँपालिका–१ भातेबाट ल्याउने गरिन्छ । कृषि बालीका लागि उर्बरभूमि मानिने लिम्चुङबुङ गाउँपालिकाको भातेमा उत्पादन भएको मकै, कोदो, दात, चामललगायत डुङ्गामार्फत हलेसी तार्ने गरिएको थियो ।    

करिब दुई वर्षभित्रै निर्माण सम्पन्न गरेर सञ्चालनमा आएको पुलमार्फत भातेमा उत्पादन भएको कृषिउपज निर्यात गर्न सकिने भएपछि कृषकसमेत उत्साहित बनेका छन् । पुल बहुउपयोगी भएको लिम्चुङबुङ गाउँपालिका–१ भातेका वडाध्यक्ष भीम किराँतले बताउनुभयो । “खोटाङ्गे र उदयपुरवासीबीच दोहोरो नाता सम्बन्ध छ”, उहाँले भन्नुभयो, “पुल अभावमा जावतजावत गर्न समस्या थियो । अहिले ढिलै भए पनि झोलुङ्गे पुल सञ्चालनमा आएपछि राजधानी काठमाडौँलगायत तराईका जिल्ला जानसमेत सहज भएको छ ।”    

लिम्चुङबुङ गाउँपालिकाका साथै उदयपुर जिल्लाको उत्तरी क्षेत्रमा पर्ने अधिकांश स्थानीय तहका स्थानीयवासी सोही कुनाइघाट भएर हलेसी हुँदै मध्यपहाडी लोकमार्गमार्फत राजधानी काठमाडौँलगायत विभिन्न जिल्ला आवतजावत गर्ने गर्छन् । उदयपुरवासीका लागि कुनाइघाटको झोलुङ्गे पुल खोटाङको त्रिधार्मिकस्थल हलेसी आवतजावत गर्ने प्रमुख मार्ग बनेको छ ।    

वर्षौंदेखि जोखिम मोलेर सुनकोशी वारपार गर्नुपर्ने कुनाइघाटमा विसं २०५७ मा डुङ्गा दुर्घटना हुँदा एकको मृत्यु भएको थियो । हलेसी तुवाचुङ नगरपालिका–१, बाहुनीडाँडा र वडा नम्बर–२, डिकुवाका स्थानीयवासी अझै पनि जोखिम मोलेरै डुङ्गामार्फत कोशी वारपार गर्न बाध्य छन् ।     
    
जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने हलेसी तुवाचुङ नगरपालिकाको डिकुवा, जोर्तीघाट, बाइटार चिपटारमा पनि झोलुङ्गे पुल निर्माण भइरहेको जनाइएको छ । कुर्लेघाट र बाइसेमा पनि झोलुङ्गे पुल उद्घाटनको तयारी भइरहेको तथा भाटबेँसीको झोलुङ्गे पुल निर्माणको काम अन्तिम चरणमा पुगेको जनाइएको छ ।    

२७ Jan २०२० , ९:१८am
हाम्रो आवाज