नेपाली समय:

वि.सं २०८० चैत्र १५   बिहीवार

EnglishEN
    अफगान शरणार्थी भन्छन् – “घर फर्कन हामीलाई शान्तिपूर्ण वातावरण र जमिन चाहियो”   

    अफगान शरणार्थी भन्छन् – “घर फर्कन हामीलाई शान्तिपूर्ण वातावरण र जमिन चाहियो”   

क्याथी ग्यानोन    
काबोबायान शिविर, पाकिस्तान, ६ फागुन : हुकम खानलाई आफू कति उमेरको भएँ भन्ने निश्चित छैन, तर उहाँका दाह्री लामा र सेता भइसकेका छन् । चालीस वर्षअघि युद्धग्रस्त अफगानिस्तानबाट भागेर पाकिस्तान आउँदा उहाँका बालबच्चा सानै थिए । जीउ ज्यानको सुरक्षाको खोजीमा विकट हिमाली भूभाग छिचोलेर उत्तर पश्चिमी पाकिस्तान आउँदा उहाँका बच्चाहरु गधाका पिँठ्युमा चढेर आएका थिए ।    
    
त्यसबखतको युद्ध तत्कालीन सोभियत सङ्घको बिरूद्ध थियो । झण्डै ५० लाख अफगानी नागरिक भिषण युद्धबाट बच्न पाकिस्तानमा शरणार्थी बन्न बाध्य पारिएका थिए । अफगानिस्तानमा जथाभावी बम प्रहार गरिएका थिए, र आम मानिसलाई अफगानिस्तानमा शान्तिसँग बस्ने वातावरण थिएन ।    
    
झण्डै चार दशकको युद्ध र द्वन्द्वपछि पनि अझै १५ लाख बढी अफगानीहरु पाकिस्तानमा शरणार्थीको रूपमा बाँचिरहेका छन् र उनीहरू आफ्नै सरकारले परित्याग गरेको महशुस गरिरहेका छन् । उनीहरुको बुझाईमा आश्रित मुलुक पाकिस्तान र राष्ट्रसंघ दुवैले आफूहरुलाई बेवास्ता गरेको छ ।    
    
अहिले, वर्षौंपछि पहिलो पटक उनीहरुमा घर फर्कन पाइने एउटा झिनो आशा पलाएको छ । संयुक्तराज्य अमेरिका र तालिबानबीच शान्ति सम्झौता हुने सम्भावना बढेको छ, र उनीहरूले पहिलो कदमका रुपमा “हिंसामा कमी” ल्याउन अस्थायी सम्झौतामा सहमति जनाएका छन् ।    
    
उक्त सम्झौता पालना भयो भने अर्को चरणमा अफगानिस्तानमा जारी विद्यमान युद्ध अन्त्यका लागि वासिङटन र तालिवानबीच बहुप्रतिक्षित दीर्घकालीन सम्झौता हुनेछ । यी दुई पक्षबीच १९ वर्षदेखि भिषण युद्ध जारी छ । सम्झौता बमोजिम अमेरिकी सैनिकहरु क्रमशः स्वदेश फर्कनेछन् भने युद्धग्रस्त अफगान पक्षहरुबीच शान्तिवार्ता र स्थायी युद्धविराम हुनेछ ।    
    
सम्भावित शान्ति सम्झौताको पृष्ठभूमिमा पाकिस्तानले सोमबार शरणार्थीका सम्बन्धमा एउटा सम्मेलनको आयोजना गरेको छ, जसमा अफगानिस्तानका लागि अमेरिकी शान्तिदूत जाल्मे खलिलजाद र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस उपस्थित हुनु भएको थियो । यसको अर्थ ४० वर्षपछि पहिलो पटक यी शरणार्थीले औपचारिक मान्यता पाएका छन् ।    
    
“यो भयानक युद्ध हो ... र यसको अन्त्य हुनु आवश्यक छ,” सम्मेलनमा सम्बोधन गर्दै खलिलजादले भन्नुभयो । उहाँले नै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेषदूतका रुपमा तालिबान र अमेरिकाबीच मध्यस्थता वार्ता गरिरहनु भएको छ । उहाँले भन्नुभयो, “हामीले हिंसा न्यूनीकरणका लागि अल्पकालीन सम्झौता गरेका छौं, र यो वार्तामा दुबै युद्धरत पक्षले खुलेर कुराकानी गरेका छौं । आशा छ हामी चाँडै बहुप्रतिक्षित शान्ति सम्झौता गर्नेछौं ।”    
    
सम्मेलनमा राष्ट्रसंघीय शरणार्थी सम्बन्धी उच्चायुक्त फिलिप्पो ग्रान्डी पनि सहभागी हुनुहुन्छ । उच्चायुक्तको कार्यालयले नै अफगान शरणार्थीलाई स्वदेश फर्काउने जिम्मेवारी निर्वाह गर्नेछ ।    
    
तर यो त्यति सजिलो भने छैन ।    
    
धेरै शरणार्थीहरूले अन्तर्राष्ट्रिय समुदाय र अफगानिस्तानका राष्ट्रपति अशरफ घानीको सहयोग र आशाको आश्वासनको आधारमा यसअघि पनि फिर्ता जान प्रयास गरिसकेका छन् । तर अफगानिस्तानमा उनीहरुका लागि न खानेकुरा थियो न कुनै आश्रय । दशकौं अगाडि छोडेका गाउँघरमा उनीहरुलाई स्वागत गर्ने कोही थिएन, गाउँमा उनीहरुलाई परचक्रीझैं व्यवहार गरियो ।    
    
गाउँ फर्किएका कतिपय मानिस पनि निराश भएर पाकिस्तान र इरानतर्फ नै फर्किएका थिए । हजारौं अन्य अफगानीले तस्करहरूलाई पैसा बुझाएर ज्यान जोखिममा पारेर युरोप भागेका थिए । तर, धेरै अफगानीलाई युरोपबाट फेरि बिमानमा राखेर युद्धग्रस्त अफगानिस्तानमा नै फर्काइयो ।    
    
आइतबार एसोसिएटेड प्रेससँगको अन्तर्वार्तामा ग्रान्डीले युरोपबाट अफगान शरणार्थीलाई जबरजस्ती फर्काइनु “लज्जाजनक” रहेको बताउनुभयो । “म ... इरान र पाकिस्तान जस्ता देशहरूले यति उदारतापूर्वक सङ्कटमा परेका मानिसलाई आश्रय दिइरहेको प्रति आभार व्यक्त गर्न चाहन्छु । तर धनी देशहरुले शरणार्थीका लागि ढोका बन्द गर्नु ठीक होइन ।”    
    
अमेरिका–तालिबान शान्ति सम्झौतापछि शरणार्थीहरूले घर फर्कने आशा व्यक्त गरिरहेकोप्रति टिप्पणी गर्दै ग्रान्डीले भन्नुभयो, “मलाई लाग्छ यसपटक सही निर्णय हुनेछ । उनीहरु यसपटकको शान्ति सम्झौता दिगो हुनेमा आशावादी पनि छन् ।”    
    
अर्को चुनौती भनेको विदेशमा रहेका शरणार्थीहरूलाई मात्र होइन, आन्तरिक रूपमा आफ्नो देशभित्र विस्थापित करोडौं अफगानलाई पनि आआफ्ना स्थानमा फर्काउन चाहिने ठूलो रकम जुटाउनु हो । सन् २००१ पछि अरबौं डलरको सहयोगका बाबजूद भ्रष्टाचारका कारण मुलुकमा गरिबी बढेको छ, जनताको जीवनस्तर दुरुह छ । विश्व समुदाय नै सहयोग गर्दा गर्दै थकित भइसकेको छ ।    
    
अफगानिस्तानमा गरिबीको स्तर माथि उक्लिदैछ । सन् २०१२ मा ३४ प्रतिशत अफगानीहरु गरीबीको रेखाभन्दा मुनि थिए, र उनीहरुको आय प्रतिदिन १ अमेरिकी डलरभन्दा कम थियो । आज त्यो संख्या बढेर ५५ प्रतिशत पुगेको छ ।    
    
पाकिस्तानमा रहेका अफगानी शरणार्थी खानका नातिनातिना भइसके । उहाँको विचारमा देशभित्र मौलाएको चरम भ्रष्टाचारले मुलुक खोक्रो भइसकेको गुनासो गर्नुभयो ।    
    
“साँचो कुरा भनौं, धेरै रकम अफगानिस्तान आयो तर मुल्लाह समेतका हरेक प्रभावशाली व्यक्तिले त्यो पैसामा रजाइँ गरे,” खानले भन्नुभयो । “सबै नेता देशद्रोही हुन्, तिनीहरूले अफगानीलाई धोका दिएका छन् । गरिब मानिसका बालबच्चा मारिए, जबकि कुनै नेताले आफ्ना छोराछोरी गुमाएनन् ।”    
    
खानले गुटेरेस र ग्रान्डीका लागि एउटै मात्र सन्देश रहेको बताउनुभयो ।    
    
“हामी धेरै कुरा माग्दैनौं,” ४० वर्षदेखि बस्दै आएको घाँसपराल र माटोले बनेको कटेरो देखाउँदै उहाँले भन्नुभयो । पाकिस्तानको खैबर पुख्तुनख्वा प्रान्तको राजधानी पेशावर नजिकै अवस्थित शरणार्थी शिविर अफगानिस्तानको सिमानाबाट करिब ४० किलोमिटरमात्र भित्र छ ।    
    
स्थानीयबासीहरु यस शिविरलाई काबोबायन शिविर भन्छन् । यहाँ विगतमा धेरै कबाब पसलहरु रहेकाले पनि यस शिविरलाई काबोबायन भनिएको हो, तर आजभोलि यस्ता पसल हराइसकेका छन् ।    
“पहिले हामी शान्तिका लागि आग्रह गर्दछौं,” च्यातिएका कपडा लगाएका दर्जनौं केटाकेटीले घेरिएका खानले भन्नुभयो । फेब्रुअरीको चिसो बिहानीमा पनि उनीहरूले जुत्ताचप्पल लगाएका थिएनन् । उनीहरूका हातखुट्टामा माटो टाँसिएको थियो ।    
    
“शान्ति हुनासाथ हामीलाई जग्गा चाहिन्छ । त्यहाँ हामी आफ्नो घर बनाउनेछौं । त्यसपछि हामीलाई खानाको जरुरी हुन्छ । अनि स्कुल, पसल र मस्जिदहरु बनाउनु पर्दछ ।” उहाँले भन्नुभयो ।    
    
अर्का बुढ्यौली उमेरका शरणार्थी शाह वाली करिब ४० वर्ष पहिले अफगानिस्तानको पूर्वी नान्गारहार प्रान्तबाट भागेर यहाँ आउनु भएको थियो । उहाँले पनि विगतमा घर फर्किने प्रयास गर्नुभएको थियो, तर त्यहाँ केही थिएन । युद्धबाट नष्ट नभएको सरसामान पनि छिमेकी र अरु चोरहरुले लुटेका थिए ।    
    
तर शान्तिको झिनो आशाले पनि उनलाई उद्वेलित बनाएको छ ।    
    
“हामीलाई शान्ति चाहिन्छ, र त्यसपछि हामी फर्कनेछौं,” उहाँले भन्नुभयो । “कुन व्यक्ति आफ्नो मातृभूमि फर्कन चाहँदैन र ?” रासस/एपी   

१८ Feb २०२० , ६:४६pm
हाम्रो आवाज