नेपाली समय:

वि.सं २०८१ बैशाख १५   शनिवार

EnglishEN
फोहरबाट ऊर्जा उत्पादनको लागि समझदारी   

फोहरबाट ऊर्जा उत्पादनको लागि समझदारी   

काठमाडौँ, २३ फागुन : शहरी क्षेत्रको फोहरबाट ऊर्जा उत्पादन गर्ने उद्देश्यले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रसँग र काठमाडौँको कीर्तिपुर नगरपालिका र रौतहटको चन्द्रपुर नगरपालिकाबीच फोहरबाट ऊर्जा परियोजना कार्यान्वयनको लागि अलगअलग समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा केन्द्रका तर्फबाट कार्यकारी निर्देशक मधुसुधन अधिकारी तथा कीर्तिपुर नगरपालिका प्रमुख रमेश महर्जन र चन्द्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सिग्देलले हस्ताक्षर गर्नुभएको थियो ।    
    
विश्व बैंक समेतको सहयोगमा केन्द्रद्वारा सञ्चालित नवीकरणीय ऊर्जा विस्तार कार्यक्रमअन्तर्गत कार्यान्वयन हुने परियोजनाको कूल लागतको ४० प्रतिशत अनुदान केन्द्रले प्रदान गर्नेछ भने बाँकी ६० प्रतिशत लगानी परियोजना निर्माणकर्ताले गर्नेछ । डिजाइन, निर्माण, लगानी, स्वामित्व, सञ्चालन तथा हस्तान्तरण ढाँचामा निर्माण हुने उक्त परियोजना अवधि २० वर्षको हुनेछ । परियोजना निर्माणकर्ताले २० वर्षसम्मको सफल सञ्चालनपश्चात् उक्त परियोजना नगरपालिकालाई हस्तान्तरण गर्नेछ ।    
    
शहरीकरणको कारणले फोहर व्यवस्थापनको समस्यालाई समाधान गर्न परियोजना निर्माणमा लागिएको नगरप्रमुख चौधरीले बताउनुभयो । नगरप्रमुख महर्जनले फोहरबाट उपत्यकामै पहिलो परियोजना निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । केन्द्रका कार्यकारी निर्देशक अधिकारीको फोहर व्यवस्थापनको विकराल समस्या भोगिरहेका नगरपालिकाहरुमा यस्ता परियोजनाको कार्यान्वयन हुन सकेमा ठूलो उपलब्धि हुने धारणा राख्नुभयो ।    
    
हालसम्म ४० भन्दा बढी नगरपालिकाकाले फोहरबाट ऊर्जा उत्पादन गर्ने परियोजनाको लागि केन्द्रसँग समझदारी गरेका छन् । धरान उपमहानगरपालिका, इटहरी उपमहानगरपालिका, दमक नगरपालिका, कन्काइ नगरपालिका (कन्काइ बिर्तामोड र अर्जुनधारा नगरपालिकाको संयुक्त परियोजना), वीरेन्द्रनगर नगरपालिका, घोराही उपमहानगरपालिका, धनगढी उपमहानगरपालिकामा परियोजना निर्माणाधीन रहेका छन् ।रासस    

६ Mar २०२० , ७:०३pm
हाम्रो आवाज