नेपाली समय:

वि.सं २०८० चैत्र १५   बिहीवार

EnglishEN
अनुगमन समितिद्वारा नेपालगंजका जमाती मस्जिद हरूको अनुगमन

अनुगमन समितिद्वारा नेपालगंजका जमाती मस्जिद हरूको अनुगमन

आज मुस्लिम आयोगद्वारा गठित बाँके जिल्लाको अनुगमन समितिका सदस्यहरुको एउटा टोलीले नेपालगंज शहरमा भएका जमात सित सम्बन्धित मस्जिद हरूको अनुगमन गर्यो तथा चारवटा मस्जिदका कर्मचारी तथा इमाम हरूको पी सी आर परीक्षण को लागि घाटीको स्वाब संकलन गर्यो । यस परीक्षणका लागि जमातका जिम्मेवार हरु ले अग्रणी भूमिका खेल्दै अनुगमन समितिको टोलीको पूर्ण रुपले अगाडि बढेर सहयोग गरे । जमातका जिम्मेवार हरुले रोजा बसेको बेला पनि परीक्षणको लागि आफुलाई दिनमा कुनै समस्या नहुने जानकारी गराई सकेपछि अनुगमन टोलीले आज दिनमा परीक्षण गर्ने जमर्को गरेको थियो । यसअघि कुनै मुस्लिम लाई रोजा बसेको बेला घाटीको स्वाब संकलन गर्दा बान्ता आउन सक्ने सम्भावना भएको कारण अनुगमन समितिको अर्को टोलीले एउटा मदरसामा यसको एक दिन अगाडि राती परीक्षण गरेको थियो । तर आज जमातका साथीहरुलाई त्यस्तो परीक्षण गर्दा पहिले सोचेको जस्तो समस्या नहुने देखेपछी दिनमा पनि परीक्षण गराउन तयार भएका थिए ।

यसअघि अनुगमन समितिका सदस्य शक्ति कुमार वंशकार ले जिल्ला प्रशासन कार्यालयमा  भएको अनुगमन समितिको बैठकमा सो परीक्षणले रोजा त कतै भङ्ग हुँदैन भनेर भेरी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट लाई जिज्ञासा राखेका थिए । सो जिज्ञासाको उत्तर मा यो परिक्षण मा प्रयोग गर्ने सामग्री रोजा भङ्ग गर्ने खालको नभएको हुनाले त्यसलाई प्रयोग गर्न सकिने भन्ने निष्कर्ष निकालिएको थियो । त्यसै अन्तर्गत जमातीहरूको आफ्नो धर्मगुरुहरु सितको छलफलमा यो परीक्षणबाट कसैलाई बान्ता हुने जस्तो समस्या छैन भने रोजा बसेको बेला पनि यो परिक्षण गर्न सकिने फैसला गरेका थिए ।

समितिले मुस्लिम समुदाय सित  समन्वय गरेर अगाडि बढ्ने तथा जसले दिनमा चाहन्छ उसलाई दिनमा तथा जसलाई राती सजिलो हुन्छ उसको परीक्षण राति गर्ने सुझाव बमोजिम आजको कार्यक्रम दिनमा गरेको हो । यस कार्यक्रममा जमात सित सम्बन्धित चारवटा मस्जिद हरु का जम्मा 11 जना को परीक्षण गरिएको थियो । यस परीक्षणमा अग्रणी भूमिका खेलेको जमात का जिम्मेवारी हरु मध्ये एकजना जिम्मेवारी नेपाली मस्जिदका सञ्चालक समितिका सदस्य इम्तियाज अन्सारीले जमातका व्यक्तिहरूले आफू बस्ने देशको कानुनको जहिले पनि सम्मान गर्ने बताए । उनले जमातको बारेमा मस्जिदमा लुकेर बसेको भन्ने व्यक्तिहरू बाट भूल भएको तथा नेपाल मा जमातबाट यस्तो कुनै पनि काम नभएको भन्दै यस भ्रमको खण्डन गरे । उनले जमातका साथीहरु ले जहिले पनि सम्पूर्ण मानवजातिको भलो को लागि प्रार्थना गर्ने तथा कसैलाई पनि गाली नगर्ने बताए । साथसाथै जमातले बिग्रिएका मुस्लिमलाई सुधार्ने काम गर्ने गरेको तथा अरुलाई धर्म परिवर्तन गराउने काम नगर्ने जानकारी गराए ।

परीक्षणका लागि आएका स्वास्थ्य कर्मचारीहरुले पनि आज दिनमा परीक्षण गर्न धेरै सहज भएको तथा स्वाब सङ्कलन यसरी गर्दा बढी भरपर्दो हुने जानकारी गराए । 

अनुगमन समितिको यस टोलीमा अनुगमन समितिका सदस्य शक्ति कुमार वंशकार, महिला अधिकारकर्मी तथा यस समितिको एकमात्र महिला सदस्य शाहिदा बानो साह तथा इरशाद राई रहेका थिए । अनुगमनको क्रममा कुनैपनि मस्जिदमा 3 जनाभन्दा बढी व्यक्तिहरु बसेको पाइएन । शाहिदा बानो साह ले सम्पूर्ण अनुगमन सौहार्दपूर्ण वातावरणमा सफलतापूर्वक सम्पन्न भएको हाम्रो आवाज को टिमलाई जानकारी गराए। यसक्रममा समितिका सम्पूर्ण सदस्य तथा त्यहाँ उपस्थित जमातका प्रतिनिधिहरुले यो अनुगमन मा मदत गर्ने प्रशासन, स्वास्थ्य तथा सुरक्षा निकायका सम्पूर्ण व्यक्तिहरुलाई धन्यवाद ज्ञापन गरे ।

 

 

 

२९ Apr २०२० , १०:२१pm
हाम्रो आवाज