नेपाली समय:

वि.सं २०८१ बैशाख ७   शुक्रवार

EnglishEN
आइपुग्यो कोरोना विरुद्धका खोप

आइपुग्यो कोरोना विरुद्धका खोप

काठमाडौँ, ८ माघ | कोरोना भाइरसविरुद्धको १० लाख मात्राको खोप नेपाल आइपुगेको छ । नेपाल सरकारलाई भारत सरकारले अनुदानमा उपलब्ध गराएको ती खोप आज अपराह्न एअर इन्डियाबाट ल्याइएको हो ।

‘कोभिशिल्ड’ नामक उक्त खोपका मात्रा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीलाई नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हस्तान्तरण गर्नुभयो ।

सो अवसरमा मन्त्री त्रिपाठीले भारत सरकारले प्रतिकूलावस्थामा खोप अनुदान सहयोग गरेकामा धन्यवाद दिँदै खोपले अब कोभिड–१९ रोगलाई नियन्त्रण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । हस्तान्तरित ती खोपका मात्रा टेकुस्थित स्वास्थ्य सेवा विभागमा रहेको केन्द्रीय भण्डारणमा राखिने छ ।

भारतमा ७० प्रतिशत प्रभावकारी देखिएको उक्त कोभिशिल्ड नामक खोप माइनस दुई डिग्री सेल्सियसदेखि माइनस आठ डिग्री सेल्सियसमा राख्न सकिने जनाइएको छ । उक्त पहिलो चरणमा आएको खोप स्वास्थ्यकर्मी, अस्पतालका सरसफाइकर्मी, एम्बुलेन्स चालक, शववाहकलाई उपलब्ध गराइने छ ।

सो भारतीय राजदूत क्वात्राले खोप उपब्धतासँगै नेपालमा अब कोभिड–१९ महामारी नियन्त्रणमा आउने विश्वास व्यक्त गर्नुभयो । स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाका निर्देशक डा झलक शर्मा गौतमले प्रदेश र जिल्ला अस्पतालमा खोप पठाइने जानकारी दिनुभयो । सरकारको कूल जनसङ्ख्याको ७२ प्रतिशत मानिसलाई कोभिड–१९ विरुद्ध खोप लगाउने योजना रहेको छ । अहिले पहिलो चरणमा ल्याइन ल्याइएको १० लाख मात्रा खोप दुई मात्रा दिँदा करिब पाँच लाख जनालाई लगाइने छ । सरकारले ‘कोभ्याक्स सुविधा’ नामक संयन्त्रअन्तर्गत निःशुल्क २० प्रतिशत खोप ल्याउने तयारी गरेको छ । कोभ्याक्समार्फत आउने २० प्रतिशत जनसङ्ख्या पुग्नेबाहेक सरकारले बाँकी ५२ प्रतिशत खोप कूटनीतिक नियोगबाट सरकार–सरकार (जिटुजी), सार्वजनिक खरिद नियमावलीअनुसार र ठेक्कामार्फत आउने छ ।

 

२१ Jan २०२१ , २:४१pm
हाम्रो आवाज