नेपाली समय:

वि.सं २०८१ बैशाख १४   शुक्रवार

EnglishEN
बागमती प्रदेशको प्रदेश सभा बैठक आज फेरी बस्दै

बागमती प्रदेशको प्रदेश सभा बैठक आज फेरी बस्दै

काठमाडौं, माघ ९ | बागमती प्रदेशको प्रदेश सभा बैठक आज बस्दैछ। माघ ७ गते बसेको बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो।

सभामुख सानुकुमार श्रेष्ठले शुक्रबार दिउँसो १ बजेका लागि प्रदेश सभा बैठक बोलाएका छन्।

प्रदेश सभा सचिव कृष्णहरि खड्काले सेतोपाटीलाई दिएको जानकारीअनुसार आज दिउँसो १ बजे प्रदेश सभा बैठक बस्न लागेको छ।

बागमती प्रदेशमा मुख्यमन्त्री डोरमणि पौडेलविरूद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेपछि नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्र विवाद छ। यसको असर प्रदेश सभामा पनि देखिएको छ।

नेकपाको प्रचण्ड-नेपाल समूहले मुख्यमन्त्री पौडेलविरूद्ध अविश्वास प्रस्ताव दर्ता गरेका छन्। उनीहरूले मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्यलाई अगाडि सारेका छन्।

प्रचण्ड-नेपाल पक्षका सांसद लक्ष्मण लम्सालले सेतोपाटीसँग कुराकानी गर्दै आज बैठक बस्नेबारे बिहीबार बेलुकी ९ बजे आफूलाई सूचना आएको बताए।

उनकाअनुसार आज मुख्यमन्त्री पौडेलविरूद्ध अविश्वास प्रस्ताव प्रदेश सभा बैठकमा टेबुल हुनेछ।

नेपाली कांग्रेसले मुख्यमन्त्री पौडेललाई साथ नदिने उनले बताए।

कांग्रेसका नेताहरूले पनि मुख्यमन्त्री पौडेललाई साथ दिन नसकिने बताउने गरेका छन्। यद्यपी कांग्रेसले यसबारे औपचारिक निर्णय गरिसकेको छैन।

 

२२ Jan २०२१ , ९:५३am
हाम्रो आवाज