नेपाली समय:

वि.सं २०८१ बैशाख ८   शनिवार

EnglishEN
कोभिड १९ विरुद्धको लडाईंमा नेपाल नयाँ चरणमा प्रवेश

कोभिड १९ विरुद्धको लडाईंमा नेपाल नयाँ चरणमा प्रवेश

माघ १४, काठमाडौं –  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कोभिड १९ विरुद्धको लडाईंमा नयाँ चरणमा प्रवेश गरेको बताएका छन् । बुधबार बालुवाटारबाट भर्चुअल रुपमा एकैपटक काठमाडौँका ११ वटा अस्पतालमा खोप अभियानको शुभारम्भपछि सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले २२० स्थानबाट खोप अभियान सुभारम्भ भएको जानकारी दिए । उनले माघ १८ गते सम्म ७७ वटै जिल्लाका ३ सय केन्द्रमा खोप अभियान अघि बढ्ने पनि बताए ।

‘खोप अभियानबाट कोभिड १९ विरुद्धको लडाईंलाई माथि उठाएका छौँ । गएको एक बर्ष अत्यन्तै कठिन भएको छ । महामारीका रुपमा आएको कोभिडबारे यसअघि कसैलाई पनि ज्ञान नभएपनि यसको सामना गर्न हामी अघि बढिरह्यौँ,’ सम्बोधनका क्रममा प्रधानमन्त्रीले भने । उनले अग्रपंक्तिमा रहेर खटिने स्वास्थ्यकर्मीको उच्च प्रशंसा गर्दै आफु खतरा मोल्न चाहेर पनि देश हितमा लाग्नेहरुको कठिन घडीमा पुर्याएको योगदान अविस्मरणीय रहेको बताए । त्यसक्रममा उनले कोभिडबाट जीवन जगत, जीवन र प्रकृतिसँगको सम्बन्धलाई नयाँ ढंगले परिभाषित गरेको भन्दै जडीबुटीलाई प्रयोगमा ल्याउन र केही शिक्षा दिएको बताए ।

कोभिड सूरु भएपछि सरकारले जनताको जीवन पहिलो कुरा हो भन्ने कुरालाई ध्यान दिँदै रोग र भोकबाट मर्न नदिने नीति लिएकाले त्यति ठूलो क्षति नभएको प्रधानमन्त्रीको भनाइ थियो । ‘पहिला जनताको जीवन बचाउन प्राथमिकता दिनुपर्छ भनेर गरेको प्रयासले अर्थपुर्ण परिणाम दिएको छ’, प्रधानमन्त्रीले भने, ‘हाम्रो खानपान, भोजनआदिले रोग प्रतिरोध क्षमता बढाउँछ । यसलाई आगामी दिनमा पनि ध्यान दिन जरुरी छ ।’

त्यसक्रममा उनले कोभिडबाट ज्यान गुमाउनेहरुप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका थिए । त्यस्तै उनले भारत सरकारका प्रधानमन्त्री नरेन्द्र मोदीलाई खोप उपलव्ध गराएकोमा विशेष धन्यवाद दिए । त्यसक्रममा उनले अन्य देशसँग समेत खोपवारे कुराकानी भइरहेको र भारतसँग थप खोप किन्ने पहल भइरहेको जानकारी दिए । नेपालमा ९८ प्रतिशत भन्दा बढि मानिस कोभिड १९ जितेर स्वस्थ भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । प्रधानमन्त्रीले सुरुमा नेपालमा कोभिड १९ परिक्षण गर्ने एउटै प्रयोगशाला नभएपनि आजसम्म आउँदा नेपालका ८२ स्थानबाट परीक्षणको व्यवस्था मिलाएको भन्दै अब पहिलाको जसरी कोभिड १९ फैलन नदिने बताए । कोभिडबारे हिजो धेरै त्रसित हुने गरेको भन्दै अहिले मानिसहरु आफैपनि सर्तक रहँदै गएपनि मास्क प्रयोग, सरसफाइ र उचित खानपिनमा ध्यान दिन प्रधानमन्त्रीले सुझाव दिए ।

२७ Jan २०२१ , ११:५३am
हाम्रो आवाज