नेपाली समय:

वि.सं २०८१ बैशाख ८   शनिवार

EnglishEN
अग्निपीडितलाई राहत लिएर कानूनमन्त्री भण्डारी गोठीगाउँमा

अग्निपीडितलाई राहत लिएर कानूनमन्त्री भण्डारी गोठीगाउँमा

कर्णाली, १५ माघ | कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी आज अग्निपीडितलाई राहत लिएर घटनास्थल तिला गाउँपालिका–७ जुम्ला पोखरीस्थित गोठीगाउँमा पुगे। मन्त्री भण्डारीसँगै कर्णाली प्रदेशसभा सदस्यद्वय पदमबहादुर रोकाया र दीनबन्धु श्रेष्ठ, तिला गाउँपालिकाका उपाध्यक्ष विष्णु बुढा र सोही गाउँका अगुवा मोतिलाल बोहोरा पनि घटनास्थलमा आज बिहान ७ः५५ बजे पुगे । मङ्गलबार साँझ ५ः३० बजे भएको आगलागीबाट विस्थापित पीडितका लागि तत्काल हेलिकप्टरबाट आवश्यक राहत लिएर कानूनमन्त्री भण्डारी गोठीगाउँ गए। ओढ्ने ओछ्याउने न्यानो कम्बल र कपडा, पाल, भाँडाकुडा, खाद्य वस्तुका लागि दाल चामल, नुन तेललगायतका सामग्री लिएर गएको उनले जानकारी दिए ।

कठोर जाडोको समय र समुद्री सतहदेखि करिब तीनहजार मिटर उचाइमा पर्ने गोठीगाउँबासीका लागि ८९ थान न्यानो कम्बल, सात रोल पि–फर्म, नौ क्वीन्टल चामल, दुई बोरा नुन, सात पेटी तेल, १५० केजी दाल, २० केजी खुर्सानी बेसार र २८ सेट भाँडाकुडा राहत पठाइएको कानून मन्त्रालयका सूचना अधिकारी कृष्णबहादुर रोकायाले जानकारी दिए।

आगलागीबाट ३२ घर, १७ गाई, २३ गोरु र ३० बाख्रा जलेर नष्ट भएका छन् । विपत् प्रतिकार्यका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थलमा पुगे पनि विकट भूगोल र सुक्खा क्षेत्र भई पानीको अभाव हुँदा बस्ती पूर्णरूपले खरानी भएको प्रहरीले जनाए  । 

२८ Jan २०२१ , ९:१४am
हाम्रो आवाज